images
images

चाँगुनारायण नगरपालिकामा राप्रपाको प्रतिस्पर्धी कोही पनि छैन : रवीन्द्रप्रताप शाह


  • 475
    SHARES
  • २०७९ बैशाख २७ गते मंगलबार

    चाँगुनारायण नगरपालिकामा राप्रपाको प्रतिस्पर्धी कोही पनि छैन : रवीन्द्रप्रताप शाह

    रवीन्द्रप्रताप शाह चाँगुनारायण नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयरका उम्मेदवार हुन् । पार्टीको केन्द्रीय सहमहामन्त्री समेत रहेका उनी सो नगरको नगर प्रमुखको प्रतिस्पर्धामा उत्रिएका हुन् । 

    चाँगुनारायण नगरपालिका राप्रपाको लागि उपत्यकाभरिकै सबैभन्दा उर्वर भूमि मानिन्छ । सुरेन्द्रप्रताप शाहको विरासतका कारण यो क्षेत्रमा राप्रपा सँधै निर्णायक शक्तिको रुपमा रहन सफल हुँदै आएको छ । यस्तो परिप्रेक्षमा उम्मेदवार शाहसँग चुनावी तयारी र सम्भावित परिणामको विषयमा केन्द्रित भइ कुराकानी गरिएको छ । 

    अहिले चुनावी दौडमा हुनुहुन्छ । राप्रपाले चाहिँ चुनावको तयारी कसरी गरिरहेको छ ?

    राष्ट्रिय प्रजातन्त्र पार्टीले चाँगुनारायण नगरपालिकामा तीव्र गतिमा टोल टोलमै समितिहरु बनाएर कोणसभा गरेर साथै घरदैलो कार्यक्रम करिब सकिएको छ । यसैगरी हाम्रो कार्यक्रमहरु तीव्र रुपमा अगाडि बढिरहेको छ । 

    तपाइँको मुख्य मुख्य मुद्दाहरु चाहिँ के के हुन् ? 

    समग्र रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीको मुद्दा भनेको राजसंस्थासहितको प्रजातन्त्र, हिन्दु राष्ट्र नेपाल, संघीयता खारेजीको माग लगायतका धेरै मागहरु छन् । ती मागहरु भन्दा पनि मूल रुपमा अहिले राष्ट्र बचाउनै पर्ने आवश्यकता छ । हाम्रो राष्ट्रमा भ्रष्टाचार र लुटको जुन वातावरण बनको छ, राप्रपाको मुल अभियान भनेकै त्यसलाई अन्त्य गरेर भ्रष्टाचारमुक्त देश बनाउने हो । सोही अनुरुप हाम्रो चाँगुनारायण नगरपालिकालाई पनि भ्रष्टाचारमुक्त नगरपालिका बनाउने योजना रहेको छ । 

    हामीले उम्मेदवारी दिएको दिन पनि भगवानको मन्दिरमा गएर भ्रष्टाचार नगर्ने कसम खाएका छौं । भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो भनेर हामीले कसम खाएका छौं । 

    राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले मुलुकभरि नै एउटा राष्ट्रवादी पार्टीको रुपमा उदाएको छ । यो पार्टी एमाले, काँग्रेस र माओवादीको विकल्पको पार्टीको रुपमा अगाडि बढेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बाहेक अरु कसैले पनि यो राष्ट्रलाई बचाउन सक्दैन भन्ने कुरा जनताले बुझिसकेका छन् । 

    चाँगुनारायण नगरपालिकामा मेरो उम्मेदवारी मेयरमा रहेको छ । चाँगुनारायण नगरपालिकामा मुलभूत विषय भनेको सुशासनसहितको समृद्ध र भ्रष्टाचारमुक्त चाँगुनारायण नगरपालिका बनाउने नै हो । साथै, त्यहाँ सडक, खानेपानी लगायत आधारभुत विकास निर्माणका कार्यहरुलाई विशेष प्राथामिकतामा राखेर अगाडि बढ्ने हामीले प्रतिज्ञा गरेका छौं । यो बाहेक अन्य धेरै कार्यहरु हामीले प्रतिबद्धतापत्रमा उल्लेख गरेका छौं । 

    हामीले जनताका छोराछारीलाई १२ कक्षासम्म निःशुल्क पढाउने साथै औषधि उपचार पनि निःशुल्क गर्ने व्यवस्था मिलाएका छौं । त्यस्तै रोजगार तथा युवाहरुको विषयमा स्थानीय तह जितेको खण्डमा हामीले पहिलो चरणमै १ हजार युवाहरुलाई रोजगार दिने योजना बनाएका छौं । 

    लगानीकर्ताहरुलाई आकर्षित गरेर उहाँहरुलाई यो नगरपालिकामा निमन्त्रणा गरेर नगरपालिकामा कलकारखाना, उद्योग खोल्न आग्रह गर्ने र त्यसबाट रोजगारी दिने हाम्रो योजना छ । सोबापत उहाँहरुलाई ५ देखि १० वर्षसम्म नगरपालिकाले लिने सबैकरहरु मिनाह गर्ने हाम्रो लक्ष्य छ । 

    यो नगरपालिकालाई जीविकोपार्जनका निमित्त यहाँका आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरुको जीवनस्तरलाई उच्च पारेर अमन चयनका साथ निदाउनसक्ने वातावरण बनाउने हाम्रो उद्देश्य हो । 

    यस्तैगरी, किशोरी महिलालाई पाठेघरमा हुने क्यान्सर विरुद्धको खोप निःशुल्क लगाउने व्यवस्था पनि हामीले मिलाएका छौं । वृद्ध आमाबुबाहरुलाई उहाँहरुकै घरमा गएर मासिक र त्रैमासिक रुपमा स्वास्थ्य परीक्षण गर्ने र उहाँहरुमा केही रोग देखिएका १ लाख देखि ५ लाखसम्म बीमा कायम गरेर सोही बीमा वापत औषधि उपचार गर्ने व्यवस्था पनि मिलाएका छौं । 

    वाइफाइलाई निःशुल्क बनाउने र विशेष गरेर नगरवासीहरुलाई ५० प्रतिशत कर छुट दिने व्यवस्था मिलाएका छौं । विकास निमार्णका कार्यहरुमा हामी टोल टोल गाउँगाउँमा नै गएर तपाइँहरुलाई के चाहिएको छ भनेर सोधिसोधि काम गर्ने जे चाहिएको छ सोही अनुसार गर्ने योजना बनाएका छौं । 

    यो पटकको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चाँगुनारायण नगरपालिका लगायत भक्तपुरभरिकै ४ वटा नगरपालिकामा निष्पक्ष भेदभाव रहितको वडाअध्यक्ष, उपमेयरको हामीले परिकल्पना गरेका छौं । हामी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर उपमेयर वडाअध्यक्ष उठेता पनि पार्टीको मात्र मेयर उपमेयर नभएर जनताको मेयर उपमेयर हुने परिकल्पना हाम्रो रहेको छ । यो राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र गर्न सम्भव रहेको छ । 

    bhaktapur_8.jpg

    चुनाव आउन अब एक हप्तामात्रै बाँकी रहेको छ । अहिले चुनावी माहोल चाहिँ कस्तो छ ?

    राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा चुनावी माहोल एकदम राम्रो रहेको छ । धेरै भन्दा धेरै व्यक्तिले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक मौका दिनुपर्छ भन्ने कुरा आएको छ । किनभने विगतका स्थानीय चुनावको निर्वाचनमा निर्वाचन जितेर आएका साथीहरुले मेयर उपमेउरहरुले के परिवर्तन गरे भन्ने कुरामा जनताले प्रत्यक्ष लाभ लिने खालको कुनै त्यस्तो योजनाहरु त ल्याउनै सकेन । 

    उहाँहरुले गर्नुभएको जुन विकास निर्माण लगायतका कामहरु एउटा पक्षपाती ढङ्गले गर्नुभएको छ, त्यसलाई निरुत्साहित गर्दैे हामी अगाढी बढ्नुपर्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको माहोल यसरी बढ्दै गएको छ कि यहाँका नगरवासी आमाबुबाहरुको चाहिँ उत्सुकता देख्दाखेरी राष्ट्रिय प्रजातन्त्र पार्र्टीको जित सुनिश्चित छ । 

    मलाई लाग्छ यदी हाम्रो पर्टीले अहिले जित्यो भने ५ वर्षमा यो चाँगुनारायण नगरपालिका कायापलट गर्नेछौं । यो नगरपालिकाको मुहार नै हामी फेर्नेछौं । चाँगुनारायण मन्दिर जुन प्राचीन छ त्यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने छौं । 

    यस्तै यहाँ इँटाभट्टाले गर्दा भएको प्रदुषणले गर्दा यहाँका जनताको स्वास्थ्य स्थिति पनि बिग्रिराखेको छ । त्यसलाई पनि व्यवस्थित ढङ्गले व्यवस्थापन गरेर लैजाने हाम्रो लक्ष्य रहेको छ । वास्तवमा, यहाँका जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई खोजिरहेका छन् । 

    यसअघिको निर्वाचनमा तपाइँहरुले नेपाली काँग्रेससँग सम्झौता गरेको भनेर सार्वजनिक भएको छ, यसबारे के भन्नुहुन्छ ?

    गत उप निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रविधिक कारणले हाम्रो उम्मेदवारी रद्द भएको थियो । त्यस्तो अवस्थामा हामीले कुनै न कुनै पार्टीलाई सहयोग गनुपर्ने अवस्था थियो । त्यतिखेरको अवस्थामा नेपाली काँग्रेससँग हाम्रो सम्झौता भएको थियो । 

    हामीले अब आउने स्थानीय निकाएको निर्वाचनमा मेयर पद हामीले पाउने र अनुकुल हुने चार ओटा वडा हामीले पाउने र काँग्रेसले उपमेयर र ५ वटा वडा लिने भन्ने खालको सम्झौता भएको थियो ।   

    त्यो सम्झौतामा शीर्ष नेताहरु जिल्लास्तरीय नेताहरुको त्यसमा हस्ताक्षर भएको थियो । तर एकाएक हामीसँग सम्पर्क नगरी उहाँहरु आफ्नो ढङ्बाट लाग्नुभयो । उहाँहरुले आफैँ सम्झौता भंग गरेर अगाडि लाग्नुभयो । लिनुपर्ने बेलामा उहाँहरुले लिनुभयो, हामीलाई दिनुपर्ने बेलामा उहाँहरुले दिनुभएन । 

    उहाँहरुले हामीलाई जस्तो धोका दिनुभएको छ, त्यो धोका राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मात्र दिएको होइन, समग्र चाँगुनारायण नगरपालिकाको नगरवासीलाई दिएको हो । काँग्रेसका नेताहरुले धोका दिएपनि यहाँका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीले आफ्नो विवेक प्रयोग गरेर यो निर्वाचनमा हामीलाई जिताउनुहुन्छ भन्ने हामी विश्वस्त छौं । 

    किनभने जुन दलले एउटा सानो सम्झौता त कायम गर्न सक्दैन भने जनतालाई यो दलले के गर्न सक्छ ? यो दल साँच्चै जनतामाझ कसरी आउन सक्छ ? हामीलाई धेरै भन्दा धेरै जनताको माया छ ।  नगरवासीहरुले हामीलाई जिताउनुहुन्छ र पाँच वर्षसम्म हामी जनताको सेवा गरिरहन पाउछौं भन्ने मलाई लागेको छ । 

    राष्ट्रिय प्रजातन्त्र पार्टीको जन्म भएको दिनदेखि नै हामी राजसंस्था बोकेर हिँडेका हौं । उहाँहरुले भोट लिने बेलामा चाहिँ यो कुरो देख्नुभएन अब अहिले गणतन्त्रको कारणले गर्दा हामी सहयोग गर्न सक्दैनौं भन्ने एउटा लज्जास्पद कुराहरु गर्नुभएको छ । 

    यस्तैगरी एमसीसीलाई हामीले समर्थन नगरेका कारणले गर्दा पनि उहाँहरुले सहयोग नगर्नुभएको भन्ने कुराहरु आएको छ । वास्तवमा भन्ने हो भने ९५ प्रतिशत नेपाली जनताहरु एमसीसी राष्ट्रघाती हो भनेका थिए । तर, नेपाली जनताको भावनालाई कुल्चेर जुन काँग्रेस, एमाले र माओवादीका नेताहरुले यसलाई पास गरेर अगाडि बढेको छ, यो भनेको नितान्त राष्ट्रघाती कुरा हो । 

    उहाँहरुले एक दम्भ देखाएर एमसीसीमा समर्थन नगरेको भनेर हामीलाइ सहयोग नगरेको अवस्था छ । तर आज राष्ट्रिय प्रजातन्त्र पार्टी भएकै कारण यहाँ सबैले नेपालको झन्डा लिएर हिँड्न पाएका छन् । 

    त्यो समयमा राप्रपा एउटा थियो, अहिले राप्रपा दुइवटा भयो कुन राप्रपालाई चाहिँ काँग्रेसले सहयोग गर्ने भन्ने पनि काँग्रेसको कुरा आएको थियो नि ? 

    त्यतिखेर हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त थियो । त्यतिखेर राप्रपा संयुक्तलाई नेतृत्व गर्ने पूर्व केन्द्रीय अध्यक्ष पशुपति शम्शेर जंगबहादुर राणा र डा. प्रकाश चन्द्र लोहनी हुनुहुन्थ्यो । 

    उहाँहरुको आरोप कमल थापाले नेतृत्व गर्नुभएको थियो भन्ने रहेको थियो । तर, वास्तवमा त्यो होइन । त्यस सम्झौतामा के थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तसँग भएको सम्झौता भोलि कुनै दलसँग एकीकरण भयो भने अथवा नाम परिवर्तन भयो भने पनि नेपाली काँग्रेसले हामीलाई सहर्ष स्वीकार गर्नुपर्छ । 

    यहाँहरुले हामीलाई मेयर र ४ वटा वडा जिताउनका लागि पुर्ण रुपमा सहयोग गर्नुपर्छ भनेर सम्झौता गरिएको थियो । अहिले उहाँहरुले विभिन्न बहाना मात्रै बनाउनु भएको हो । 

    rabindra.jpg

    केही वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति काँग्रेसले सहानुभूति राख्ने भन्ने कुरा पनि आएको थियो त्यस्तो केही छ त ?

    त्यस्तो खास केही पनि कुरा भएको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले एक्लै चुनाव लडिरहेको अवस्था छ । यो एक्लै लड्ने पार्टी हो, एक्लै अगाडि बढ्ने पार्टी हो । हामीले कसैलाई सहयोग गर्ने पनि होइन, हामी कसैसँग सहयोग लिने पनि होइन । हामी एक्लै चुनाव लडेर हामी एक्लै चुनाव जित्छौं ।  

    राष्ट्रिय प्रजातन्त्र पार्टी फुट्दै गर्दा जितका लागि अर्को पक्षको असर भक्तपुरमा कस्तो छ ?

    त्यस विषयमा म केही भन्न चाहन्न । कस्तो असर पर्छ भनेर तपाइँहरु आफैं विश्लेषण गरेर बुझ्नुस् । अहिले राष्ट्र भरिनै राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा ठुलो लहर आएको छ । यो पार्टीलाई एउटा मौका दिनुपर्छ भन्ने खाल धारणा आम जनतामा बनेको छ । त्यो जनलहरको कारण तपाइँ आफैं बुझ्नुस्, अर्को पार्टीले यहाँ कस्तो प्रभाव पार्न सकेको छ भनेर ।

    उपत्यकामध्ये राप्रपाको उर्वर भुमि चाँगुनारायणलाई मानिन्छ । तर त्यो उर्वर भुमिको गरिमा बढाउने वा त्यसलाई जीतमा बदल्ने आधार तपाइँसँग के के छन् ?

    राष्ट्रिय प्रजातन्त्र पार्टी उपत्यका भित्रमा सबैभन्दा बलियो आधार भएको भनेको चाँगुनारायण नगरपालिकामा हो । अब जीतको लागि हाम्रो आधार भनेको हामी जनतासँगको निरन्तर सम्पर्क र कुराकानी नै हो । त्यसबाहेक हामीले नजितेर पनि यो क्षेत्रमा जनताको लागि जुन सेवा गर्यौं, यसबाट पनि जनताहरुले हामीमाथि विश्वास गर्नुभएको छ । 

    जनताका जे जस्ता समस्याहरु छन्, तिनमा हामीले सहयोग पुर्याएका छौं । विकास निर्माणका कुराहरुमा आवाज उठाएका छौं । त्यसकारणले गर्दा मलाई के लाग्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिताउन जनता आफैं लागिरहनुभएको छ । 

    काँग्रेस, एमाले माआवादीले हाम्रा लागि केही गरेन भन्ने जनतालाई लागिसक्यो । जब जब चुनाव आउछ तब तब गाँस बास, कपासको योजना लिएर आउनुहुन्छ तर उहाँहरुले जितिसकेपछि कहाँ हराउनुहुन्छ कसैलाई थाहा हुँदैन । त्यसकारण नेपाली जनता चाँगुनारायण्को जनता पनि उहाँहरुसँग वाक्कदिक्क भइसकेको हुनाले नगरबासीले हामीलाई जिताउने निश्चित देखिन्छ । 

    यो चाँगुनारायण नगरपालिकामा विशेषगरी स्व. सुरेन्द्र प्रताप शाहको धेरै नै योगदान रहेको थियो । त्यसकारण पनि यहाँ हाम्रो आधार बनेको छ । अहिलेका नेताहरु पनि जनताको सेवामा २४ सै घण्टा खटिरहेको अवस्था छ । हाम्रो परिकल्पना भनेकै कुनै पार्टीको नभएर जनताकै मेयर, उपमेयर र वडाअध्यक्ष बनाउने रहेको छ । यसकारण पनि यो पार्टीलाई माया गरेर नगरबासीले जिताइदिनुहुन्छ भन्ने विश्वास लिएका छौं । 

    राष्ट्रिय प्रजातन्त्र पार्टीको मुख्य प्रतिस्पर्धा चाहिँ कोसँग हुने देख्नुभएको छ ?

    अहिलेको परिपेक्षमा भन्नुपर्दा कसैसँग पनि हुने म देख्दिँन । प्रतिस्पर्धी साथीहरु त हुनुहुन्छ, तर बाहिरी सतहमा त उहाँहरु बलियो देखिरहनुहुन्छ ठुला दल भएका कारणले तर भित्री सतहमा उहाँहरुको प्रतिस्पर्धा हामीसँग हुँदैन ।


    images

    Logo