काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान) प्रबन्ध समितिको सदस्यमा विश्वमोहन अधिकारी मनोनित भएका छन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक रहेका अधिकारीलाई नेपाल सरकारको प्रतिनिधिको रुपमा संघमा मनोनयन गरिएको हो । मन्त्रिपरिषद्को असार २४ गते बसेको बैठकले उनलाई सरकारको प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
नेपाल व्यवस्थापन संघको विधानले संघको प्रबन्ध समितिमा १९ जना रहने व्यवस्था गरेको छ । जसमध्ये १७ जना निर्वाचित भएर आउँछन् । बाँकी २ जनामध्ये निवर्तमान सभापति पदेन सदस्यको रुपमा रहने व्यवस्था छ भने नेपाल सरकारबाट मनोनित भएका एकजना व्यक्ति सरकारको प्रतिनिधिको रुपमा रहने व्यवस्था छ । सोही व्यवस्था अनुसार उनलाई सरकारी प्रतिनिधिको रुपमा प्रबन्ध समिति सदस्यमा मनोनित गरिएको हो । उनको कार्यकाल २ वर्षको हुनेछ ।
मनोनित भएसँगै अधिकारीले राज्यप्रति उत्तरदायी निजी क्षेत्र र निजी क्षेत्रप्रति उदार सरकार बनाउन दुई पक्षबीचको पुलको भूमिका निर्वाह गर्ने उल्लेख गरे । ‘नेपाल व्यवस्थापन संघ निजी क्षेत्रमा कार्यरत व्यवस्थापकहरुको आवद्ध रहेको संघ हो । नेपाल सरकारको प्रतिनिधिको रुपमा निजी क्षेत्र र सरकारबीचको ग्यापलाई कम गर्ने कार्यमा मेरो प्रमुख भूमिका हुन्छ,’ अधिकारीले भने, ‘सरकारकाे प्रतिनिधिको रुपमा निजी क्षेत्रलाई राज्यप्रति उत्तरदायी बनाउने र निजी क्षेत्रका समस्यालाई सरकारसम्म पुर्याएर समाधानमा सहजीकरण गर्न समेत मैले भूमिका निर्वाह गर्नेछु ।’
अधिकारीसँग बैंकिङ क्षेत्रमा झण्डै २४ वर्षको अनुभव छ । यो अवधिमा उनले अन्नपूर्ण फाइनान्स, सिटी डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक र ओम डेभलपमेन्ट बैंकमा रहेर काम गरेका छन् ।
यही अवधिमा उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसहरुमामा २१ वर्षसम्म प्राध्यापन गरेका थिए। तात्कालिनओम डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका उनी सो बैंक एनएमबि बैंकसँग सफल मर्जर गराएर बाहिरिएका थिए । विगत एक वर्षदेखि युवा तथा साना व्यवसायी स्वरोजगार कोषकाे कार्यकारी निर्देशकको भूमिकामा छन् ।


