काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीका कारण कृष्णहरि पुष्करको प्रवेश अड्किएको छ । गभर्नर अधिकारीले सिफारिस नगर्दा अर्थसचिवको समेत जिम्मेवारी पाएका कृष्णहरि पुष्करको शपथ रोकिएको हो ।
नेपाल राष्ट्र बैंक ऐनको व्यवस्था अनुसार राष्ट्र बैंक सञ्चालक समितिमा अर्थसचिव पहिलो वरियतामा रहने व्यवस्था छ । अर्थसचिवको जिम्मेवारी पुष्करले पाएसँगै उनी राष्ट्र बैंक सञ्चालक समितिमा स्वतः सदस्य भएका छन् । तर, सञ्चालकको हैसियतमा काम गर्न भने नयाँ अर्थसचिवले प्रधानन्यायाधीशबाट शपथ लिनुपर्छ । त्यसका लागि सञ्चालक समितिका अध्यक्ष समेत रहेका गभर्नरले यसको सिफारिस गर्नुपर्छ ।
तर, गभर्नरले अहिलेसम्म सञ्चालक समितिको शपथका लागि सिफारिस गरेका छैनन् । सोही कारण अहिलेसम्म नेपाल राष्ट्र बैंकले मधु मरासिनीलाई नै सदस्यको हैसियतमा राखेको छ ।
नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले गभर्नर बिदामा बसेका कारण सिफारिसमा ढिलाइ भएको हुनसक्ने बताए । ‘कोरोनाको आशंकाका कारण उहाँ बिदामा हुनुहुन्छ, त्यसैले यसमा ढिलाइ भएको हुनसक्छ,’ उनले भने ।
राजश्व सचिवको हैसियतमा रहेका पुष्करलाई अर्थमन्त्रीले तत्कालको लागि मात्रै अर्थसचिवको भूमिका दिइएको हो । केही दिनभित्रै अर्को अर्थसचिव आउनसक्ने भएका कारण अहिले राष्ट्र बैंकको सञ्चालक समितिका सिफारिस गर्न र प्रतिनिधित्व गर्न समेत गभर्नर र अर्थसचिव दुवैलाई रुचि छैन । पूर्णकालीन अर्थसचिवको पाउने आशमा समेत यसमा केही ढिलाइ भएको हुनसक्ने राष्ट्र बैंकका उच्च अधिकारीको बुझाइ छ ।


