काठमाडौं । कच्चा तेलको भन्सार महसुल कटौती भएपछि खाने तेलको मूल्य घटेको छ । सरकारले भदौ २१ गते कच्चा तेलको आयातमा लाग्ने महसुल कटौती गरेपछि खाने तेलको मूल्य प्रतिलिटर २० रुपैयाँले सस्तिएको हो ।
असारसम्म बढेको खाने तेलको मूल्य साउनयता भने घटिरहेको छ । सरकारले कच्चा तोरीको भन्सार महसुल ५ प्रतिशतबाट १ प्रतिशतमा र अन्य कच्चा तेलको आयातमा लाग्ने भन्सार महसुल १ प्रतिशत कायम गर्ने निर्णय गरेपछि चाडबाडको मुखमा उपभोक्तालाई राहत थपेको हो । पशुपति खाद्य तेलका सञ्चालक अमित शारडाका अनुसार कच्चा पदार्थको मूल्य वृद्धिका कारण असारमा महँगिएको खाने तेल अहिले सस्तिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश १ का सदस्य एवं बागमती आयलका सञ्चालक देवकीनन्दन अग्रवालका अनुसार सनफ्लावर तेलको मूल्यमा कटौती भएको छ ।
१० लिटर तेलको मूल्य ३ हजार १ सयबाट घटेर २ हजार ४ सय रुपैयाँ भएको छ । स्वदेशी बजारमा खानेतेलको मूल्य घटे पनि माग भने उस्तै देखिएको अग्रवालले बताए । उनले भने, “जोगबनीका व्यापारीले अरू सामान खरिद गर्दा खाने तेल नेपालको भन्दा कम मूल्यमा दिने गरेका छन् ।”असारमा तोरी तेलको उद्योग मूल्य (फ्याक्ट्री मूल्य) प्रतिलिटर ३२० रुपियाँ, सनफ्लावरको प्रतिलिटर ३ सय ३० रुपैयाँ, सोयाबिनको ३ सय, पाम तेल २ सय २५ रुपैयाँ पुगेको थियो ।
अहिले तोरीको २ सय ९५ देखि ३ सय रुपैयाँ र अन्यको क्रमशः २ सय ५०, २ सय २० र १ सय ८० रुपैयाँमा झरेको छ । अग्रवालले तिहारसम्ममा खाने तेलको मूल्य निकै तल ओर्लने बताए । असारमा खाने तेलको मूल्य बढ्नुमा रुस–युक्रेन युद्ध एउटा कारण थियो । युद्धका कारण रोकिएको कच्चा पदार्थको आयात अहिले सहज बन्दै गएको छ ।


