काठमाडौं । नेपाल सरकारका ४ मन्त्री बर्खास्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीको तर्फबाट सरकारमा रहेका चार मन्त्रीलाई बर्खास्त गरेका हुन् । यसरी बर्खास्तीमा पर्ने मन्त्रीहरुमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंह रहेका छन् ।
सत्ता गठबन्धनमा रहेको जसपाले २२ असोजमा पठबन्त्रन तोड्दै एमालेसँग चुनावी तालमेलको सहमति गरेको थियो । सत्ता गठबन्धनबाट बाहिरिएसँगै सो पार्टीका मन्त्रीहरू हटाउनुपर्ने आवाज उठ्दै आएको थियो ।
मन्त्री हटाइएपछि सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री देउवाले नै लिएका छन् । नयाँ मन्त्री नियुक्त गर्न नमिल्ने भएकोले यी मन्त्रालयहरुमा अब अहिलेका मन्त्रीहरुलाई नै जिम्मेवारी दिनसक्ने जनाइएको छ ।
त्यस्तै यसअघि स्वत: पदमुक्त भएका कानूनमन्त्री गोविन्द शर्माको रिक्त जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएको छ ।




