काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा भक्तपुर–२ को चुनावी माहौल रोचक बन्दै गएको छ । देशभरी निर्वाचनका लागि हेभीवेट भिडन्तको चर्चा भइरहँदा दोस्रो पुस्ताका नेताहरुको प्रतिस्पर्धा हुँदै गरेको भक्तपुर समेत त्यही केन्द्रमा देखिएको हो ।
यो क्षेत्रमा नेकपा एमालेबाट महेश बस्नेत र गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका दुर्लभ थापाबीच प्रतिस्पर्धा हुँदैछ । बस्नेत २०७४ सालमा सोही क्षेत्रबाट चुनाव जितेका व्यक्ति हुन् भने थापा १५ वर्षदेखि प्रयास गरेर निर्वाचन लड्न लागेका व्यक्ति हुन् ।
अहिलेको अवस्था हेर्दा सो क्षेत्रमा तीव्र प्रतिस्पर्धाको सम्भावना देखिएको छ । स्थानीय निर्वाचनको नतिजा अनुसार सो क्षेत्रको अंकगणितमा काँग्रेस अगाडि देखिन्छ । स्थानीय निर्वाचनमा काँग्रेस सो क्षेत्रबाट कुल २५ हजार ७ सय ६४ मत प्राप्त गर्दा नेकपा एमालेले २४ हजार २ सय ८६ मत प्राप्त गरेको थियो । त्यस्तै, नेपाल मजदूर किसान पार्टीले ४ हजार ९ सय २५, राप्रपाले ४ हजार १ सय ७२, एकीकृत समाजवादीले १ हजार २ सय २ र नेकपा माओवादी केन्द्रले १ हजार ४५ मत प्राप्त गरेका थिए ।
यो नतिजा अनुसार गठबन्धनको मत एमालेको भन्दा ३ हजार ६ सय २५ ले अगाडि छ । नेपाल मजदूर किसान पार्टी र राप्रपाको कुल भोट ९ हजार ९७ रहेको छ । यो अवस्था हेर्दा यसअघि नेमकिपा र राप्रपाको भोटले निर्वाचनमा प्रभाव पार्ने देखिन्छ । त्यसबाहेक अन्य केही फ्याक्टरले पनि स्थानीय चुनावको नतिजामा तलमाथि हुनुसक्ने विश्लेषकहरु बताउँछन् ।
१. निर्णायक शक्तिको झुकाव
स्थानीय तहको निर्वाचनमा भक्तपुरमा कुनै गठबन्धन थिएन । त्यसो त यो क्षेत्रमा माओवादी र एकीकृत समाजवादीको मत निकै कम देखिएकोले यो मतले निर्णायक भूमिका निर्वाह गर्नसक्ने अवस्था समेत देखिँदैन ।
यहाँ निर्णायक मत दिनसक्ने शक्ति राप्रपा र नेमकिपा नै हो । तर, उनीहरु यसपटक कुनै पनि पक्षलाई समर्थन गरेका छैनन् । र, उनीहरुले आ–आफ्नै उम्मेदवार उठाएका छन् ।
केन्द्रीय रुपमा एमाले र राप्रपाबीच ३ स्थानमा तालमेल भएको छ । यसलाई गठबन्धनकै रुपमा चर्चा गर्ने गरिन्छ । यो चर्चाले राप्रपाका मतदातालाई एमालेसँग नजिक बनायो भने यसले बस्नेतलाई फाइदा हुन सक्छ । तर, आफ्नै उम्मेदवार भएकोले यो सम्भावना समेत सहज छैन ।
उता नेमकिपा भने कसैसँग तालमेलमा गएको छैन । नत उसले कसैलाई समर्थन गर्ने आश्वासन नै दिएको छ । यो क्षेत्रको सम्भावित तालमेल रोकिनु काँग्रेस उम्मेदवार थापाका लागि निकै सहज बनेको छ ।
यद्यपि राप्रपा पृष्ठभूमिका किरण थापा अहिले प्रदेशसभाका लागि सूर्यविनायकबाट उम्मेदवार छन् । व्यापारिक पृष्ठभूमिका थापाको प्रभावका कारण राप्रपाको मत एमालेतिर बढी जानसक्ने चर्चा समेत हुने गरेको छ । यसो भयो भने यसको लाभ बस्नेतलाई पनि हुन सक्छ ।
२. पार्टीभित्रको स्वीकार्यता
स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा जम्मा १२ सय मत ल्याएको नेकपा एकीकृत समाजवादीले मध्यपुर थिमि नगरपालिका क्षेत्र पर्ने भक्तपुर २(१) को टिकट पाएको छ । यसबाट टिकट पाउने आशमा रहेका ११ जना काँग्रेसका आकांक्षीहरु निराश छन् ।
यो क्षेत्र विगतदेखि नै काँग्रेसको गढको रुपमा परिचित क्षेत्र हो । यो क्षेत्रमा काँग्रेसले उम्मेदवार नपाउँदा यसले काँग्रेसको सम्भावित मतलाई घटाउनसक्ने आँकलन समेत गरिन्छ ।
भक्तपुरमा जिल्ला सभापतिको रुपमा थापा सर्वस्वीकार्य नेता हुन् । उनलाई उम्मेदवार बनाइएकोमा भक्तपुर काँग्रेसका सबै नेताहरु सकारात्मक हुनुको लाभ भने थापालाई हुनसक्ने सम्भावना समेत औंल्याइएको छ ।
उता भक्तपुर एमालेभित्र बस्नेतको सर्वस्वीकार्यता कम छ । उनलाई उम्मेदवार बनाउनुमा कुनै विवाद नभए पनि जिल्लाका केही प्रभावशाली नेताहरुसँग बस्नेतको हार्दिक सम्बन्ध छैन । मध्यपुर थिमिका पूर्व मेयर मदनसुन्दर श्रेष्ठ तथा सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापासँग विगतमा उनको विभिन्न विषयमा मनमुटाव हुँदै आएको थियो । अहिले पनि उनीहरुबीचको सम्बन्ध त्यति सुमधुर नभएको चर्चा हुने गरेको छ । यसको प्रभाव चुनावमा पर्नसक्ने समेत बताइन्छ ।
३. विगतको काम
अहिले निवर्तमान सांसद महेश बस्नेत अघिल्लो कार्यकालमा गरेका कामहरु देखाएर जनतासँग भोट मागिरहेका छन् । यो निर्वाचन क्षेत्रभित्र सडक, खानेपानी र ढलको क्षेत्रमा ठूलो प्रगति हासिल भएको र यो आफ्नो कारणले सम्भव भएको उनको दाबी छ ।
यसलाई जनताले सत्य माने भने यसले बस्नेतलाई सहज बनाउँछ । तर, देउवा सरकार गठनपछि विगत १५ महिनादेखि भएका कामको जस भने काँग्रेस उम्मेदवार थापाले समेत लिन सक्छन् । पार्टी सभापति प्रधानमन्त्री देउवा र प्रदेश सभापति इन्द्रबहादुर बानियाँसँग निकट सम्बन्ध भएका थापाले यो अवधिमा संघ तथा प्रदेशबाट थुप्रै विकासका परियोजनाहरु भक्तपुर भित्र्याउन सफल भएको बताइन्छ ।
काँग्रेस उम्मेदवार थापा भएको विकासका कामजति सबै आफैं गरेँ भन्ने दम्भ विपक्षीले गर्ने गरेको भन्दै यस्तो दम्भले विपक्षीलाई नै नोक्सान हुने बताउँछन् । भक्तपुरकाे नेताको रुपमा आफूले यो क्षेत्रको विकासको लागि योगदान गरेको भन्दै यसको अवमूल्यन नगर्न उनको सुझाव छ ।
४. आगामी सरकार
अघिल्लोपटक नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको लक्ष्यसहित चुनावी तालमेल हुँदा आगामी सरकार कम्युनिष्टको बन्छ भन्ने लगभग निश्चितजस्तै थियो । त्यसमाथि एमालेले ल्याएको राष्ट्रबादको नाराले काँग्रेस मनोवैज्ञानिक रुपमै कमजोर थियो ।
काँग्रेसको सरकार बन्ने सम्भावना क्षीण भएको अवस्थामा काँग्रेसबाट सरकारको नेतृत्वगर्ने दलको जनप्रतिनिधिलाई पठाउँदा बढी विकास हुने मनोविज्ञान समेत हावी थियो । त्यसैले यो अवस्थामा एमालेले चुनाव जित्यो ।
यसपटकको मनोविज्ञान चुनावपछि पनि गठबन्धनको सरकार बन्छ भन्ने छ । यो मनोविज्ञानको प्रत्यक्ष लाभ दुर्लभ थापाले पाउनेछन् । निर्वाचनपछि एमालेको सरकार बन्दैन भन्ने मनोविज्ञान हावी हुँदा यसले महेश वस्नेतलाई रक्षात्मक बनाएको छ । त्यसैले उनले चुनावी कार्यक्रममा आगामी कार्यकालमा गर्ने कामको खासै चर्चा गरेको पाइँदैन ।
५. व्यक्तिगत स्वभाव चर्चा र कन्ट्रोभर्सी
भक्तपुर–२ का दुवै उम्मेदवार विभिन्न कारणले चर्चामा आउने खालका छन् । अघिल्लो वर्ष भक्तपुरमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा रिसाएपछि थापाको चर्चा चुलिएको थियो ।
महेश वस्नेत पृष्ठभूमि र विगतमा उनको बोलीको कारण कहिले चर्चा र कहिले विवादमा समेत आउने गरेका छन् । तात्कालिन सरकार टिकाउन सांसदको ‘अपहरण’मा समेत उनी चर्चामा आए ।
पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको आलोचनापछि उनी अर्को विवादमा तानिए । त्यहीबेला अर्का उम्मेदवार थापाले भने बालेनलाई भेटेर उनको कदममा समर्थन जनाए । यही कारणले बालेनप्रति आस्था राख्ने स्वतन्त्र मत थापाप्रति बढी झुकाव राख्नसक्ने विश्लेषण गरिन्छ ।
६. राष्ट्रिय राजनीति
अघिल्लो निर्वाचनमा एमालेले लिएको राष्ट्रवादी र भ्रष्टाचार विरोधी अभियानलाई जनताले निकै मन पराएका थिए । तर, करिब ३ वर्षको अन्तरालमा दुवै एजेन्डाप्रति जनता निराश भए । यही समयमा भ्रष्टाचारका कयौं काण्डहरु बाहिरिए । बरु एमाले नेतृत्वमाथि संविधान सिध्याउने षडयन्त्रको आरोप लाग्यो । यसले एमालेप्रति जनता सकारात्मक भएनन् ।
तर, त्यसको विकल्पमा आएको काँग्रेस सरकारले समेत राम्रो डेलिभरी दिन सकेको छैन । ठूला भ्रष्टाचारका काण्ड बाहिर नआए पनि योबीचमा काँग्रेस नेतृत्वको सरकारले समेत सुशासनको प्रत्याभूति जनतालाई दिन सकेन । यी कारणले जनताले वैकल्पिक शक्तिलाई मत दिने सम्भावना पनि उत्तिकै देखिन्छ । यसको प्रभाव कसलाई बढी पर्छ भन्न सकिन्न ।


