काठमाडौं । चालू आर्थिक बर्षको ७ महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत दर्ता भएका बेरोजगार युवाको संख्या १ लाख ३३ ले वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक बर्षको सोही अवधिमा वेरोजगार युवाको संख्या ७ लाख ८ हजार २ सय ४५ बाट वृद्धि भएर ८ लाख ४१ हजार ६ सय ६० पुगेको हो ।
आर्थिक वर्ष २०७७/७८ मा न्यूनतम रोजगार कार्यक्रममा सहभागी हुन ७ लाख ५२ हजार ४ सय ५० जना बेरोजगार व्यक्तिको सूचीकरण भएको र तीमध्ये २ लाख बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रत्याभूति गरिने राष्ट्रिय लक्ष्य तोकिएको थियो।
प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव लोकनाथ भुसालले कार्यक्रमको लक्ष्य रोजगारी सृजनासँगै बेरोजगारको खोजी गरी सूचीकरण गर्ने भएकाले पछिल्लो समय स्थानीय तहसँग मिलेर बेरोजगारको खोजीलाई प्रभावकारी बनाएपछि संख्या बढेको बताए।
बेरोजगारको संख्या वृद्धिसँगै सबैलाई रोजगारी उपलब्ध गराउन नसक्नु कमजोरी भए पनि सूचीकृत हुने र रोजगारी माग गर्ने चेतना बढ्नु सकारात्मक हो, उपसचिव भुसालले भने,पछिल्लो समय स्थानीय तहले पनि रोजगार कार्यक्रमलाई प्राथमिकता दिएका कारण भविष्यमा रोजगारी पाउनेको संख्या समेत बढ्न सक्छ।


