काठमाडौं । हवाई इन्धनको मूल्य घटाउन नेपाल आयल निगमलाई वायुसेवा सञ्चालक संघले ताकेता गरेको छ । निगमका कार्यकारी निर्देशक उमेश थानीलाई पत्र लेख्दै संघले लागत मूल्यमा १० रुपैयाँसम्म मात्रै नाफा राखेर बिक्री गर्न आग्रह गर्दै त्यस्तो अवस्थामा हवाई भाडादर ३०० देखि १४ सय रुपैयाँसम्म घटाउनसक्ने जनाएको हो ।
अहिले आन्तरिक हवाइ इन्धनको बिक्रीमा निगमलाई करिब ४१ रुपैयाँ नाफा छ । १० रुपैयाँ मात्रै नाफा राखेर बेच्ने हो भने अहिलेको अवस्थामा मूल्य १५९ रुपैयाँमा झर्न सक्छ । यस्तो अवस्थामा ट्रङ्क रुटमा कायम हुने भाडादर समेत संघले सार्वजनिक गरेको छ ।
संघले पछिल्लो समय बैंकको ब्याज र डलरको मूल्यका कारणले पनि भाडा केही बढेको भए पनि प्रमुख कारण इन्धनको मूल्य नै रहेको भन्दै निर्वाचनको समयमा सबैभन्दा छिटो माध्यमको रुपमा रहेको हवाइ सेवाको भाडा बढी हुँदा आम सर्वसाधारण मारमा परेकोतर्फ समेत सचेत गराएको छ ।



