काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘वाचापत्र’ सार्वजनिक गरेको छ । विहीबार सो पार्टीले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको लागि सो घोषणापत्र सार्वजनिक गरेको हो । रास्वपाको घोषणापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव गरिएको छ । त्यस्तै, वडाध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने प्रस्ताव अघि सारिएको छ ।
घोषणा पत्रमा राष्ट्रपति बन्न कुनै पनि राजनीतिक दलमा आवद्ध नभएको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशजका आधारमा नेपाली नागरिकता लिएको व्यक्ति हुनुपर्ने प्रस्ताव अगाडी सारिएको छ ।
त्यस्तै, उपराष्ट्रपति राष्ट्रिय सभाका अध्यक्ष हुने व्यवस्था गर्ने एजेन्डा पनि घोषणापत्रमा उल्लेख गरिएकोे छ ।