काठमाडाैं । निर्वाचन आयोगले २०७९ मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि छ प्रकारको परिचयपत्र देखाएर मतदान गर्नसक्ने व्यवस्था मिलाएको छ । आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । तर यसका लागि मतादाता नामावलीमा नाम भने हुनु पर्नेछ ।
आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले उल्लेखितमध्ये कुनै परिचयपत्र भिडाइ मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।
निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएकोरनासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो ।


