काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारहरुले अनलाइन सञ्चार माध्यममा विज्ञापन गर्न पाउने व्यवस्था गरेको छ। बिहीबार विज्ञप्ती जारी गर्दै आयोगले यस्तो जनाएको हो ।
आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जारी गरेको विज्ञप्तीमा निर्वाचन आचारसंहिता, २०७९ बमोजिम राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता तथा प्रेस काउन्सिलमा सूचीकरण भएका अनलाइन सञ्चारमाध्यममा निर्वाचन प्रचारप्रसार गर्न पाउने निर्णय भएको जनाइएको छ।
आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो वा एमएम रेडियो तथा पत्र पत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न पाउने व्यवस्था गरेको थियो। तर अनलाइन सञ्चार माध्यमबाट प्रचारप्रसार गर्ने सम्बन्धमा स्पष्ट उल्लेख थिएन।
आयोगले बिहीबार सात बुँदे विज्ञप्ति प्रकाशित गरी राजनीतिक दल वा उम्मेदवारले सञ्चार माध्यमको प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था गरेको हो।


