रुसले जनमत संग्रह गराएर आफूमा गाभेको दाबी गरेको युक्रेनको खेरसन शहरबाट रुसी सेना फिर्ता हटेको छ । युक्रेनी सेनाको प्रत्याक्रमण थेग्न नसकेपछि रुसले आफ्ना सेना फिर्ता गरेको हो । सेना फिर्तासँगै रुसले सो क्षेत्रमा निर्माण गरेका केही रणनीतिक पुलहरु ध्वस्त बनाएर गएको छ ।
शुक्रबार बिहान ५ बजेसम्म रुसले सबै सैन्य सामाग्रीसहित सो क्षेत्र छोडेको मस्कोका सैन्य अधिकारीहरुले बताएका छन् । यो क्रममा कुनै पनि क्षति व्यहोर्न नपरेको समेत मस्कोले जनाएको छ ।
रुसी आक्रमण सुरु भएयता खेरसन रुसी नियन्त्रणमा रहेको एकमात्रै क्षेत्रीय राजधानी थियो । यो क्षेत्रबाट समेत रुसी सेना पछि हटेपछि रुसको नियन्त्रणमा रहेको क्षेत्र निकै साँघुरिएको छ । रुसको यो कदमलाई अन्तराष्ट्रिय मिडियाहरुले रुसका लागि ठूलो धक्का भनेका छन् ।
योसँगै खेरसनमा पुनः युक्रेनी झण्डा फहराइएको छ ।


