काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन देहायको सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ । निर्वाचन आयोगले सूचना जारी गर्दै विभिन्न प्रकृतिका सवारी साधन वा सवारी साधनको सम्बन्धित प्रयोगकर्ताको परिचयपत्रको आधारमा सञ्चालन गर्न पाउनेगरी सवारीसाधन सञ्चालनको अनुमति दिएको हो । उक्त सवारी साधनहरू मतदाता ओसारपसार गर्ने कार्यमा प्रयोग गर्न नपाइने भने आयोगले प्रष्ट्याएको छ ।
यसरी अनुमति पाएका सवारीसाधन देहाय बमोजिम रहेका छन् ।
१. बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन
२. दूध बोक्ने सवारी साधन
३. सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन
४. दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन
अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन
निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन
तरकारी, फलफूल तथा विद्युत सेवका लागि प्रयोग हुने सवारी साधन
५. कूटनीतिक नियोग, यूएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन
विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन
६. सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन
७. आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन ।


