काठमाडौ । प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्यका लागि आज मतदान हुदैछ । बिहान ७ वजेदेखि साँझ ५ वजेसम्म मुलुकभरका १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले सहभागिता जनाउँदै छन् ।
निर्वाचन आयोगका अनुसार, आगामी ५ वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि हुने
निर्वाचनको सबै तयारी पूरा भएको छ । निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ७४ हजार ८४९, नेपाल प्रहरीका ७१ हजार ६९३, सशस्त्र प्रहरी बलका ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ८२१ सुरक्षाकर्मी खटिएका छन् ।
त्यसैगरी चुनावी सुरुमाका लागि नै १ लाख १५ हजार म्यादी प्रहरी नियुक्त गरिएकाे छ ।प्रतिनिधिससभामा देशभरका १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीबाट र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।
त्यस्तै प्रदेशसभामा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । त्यसमध्ये मनाङ (ख) का प्रदेशसभा उम्मेद्वार दीपक मनाङे निर्विराेध निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४१२ उम्मेदवार छन् । जसमा एक हजार ५४५ जना दलका र ८६७ जना स्वतन्त्र उम्मेदवार छन् ।प्रदेशसभाको प्रत्यक्षतर्फ तीन हजार २२४ जना उम्मेदवार छन् । जसमध्ये दुई हजार १३० जना दलका र एक हजार ९४ जना स्वतन्त्र उम्मेदवार छन् ।
निर्वाचनका लागि मुलुकभर १० हजार ८९२ वटा मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्र स्थापना गरिएको छ।
निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कारागार र वृद्धाश्रमहरुमा १४१ वटा अस्थायी मतदानस्थल तोकिएको छ । यी मतदानस्थलबाट अस्थायी मतदातामा दर्ता भएका ४ लाख ५० हजार जनाले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकमा मात्र मतदान गर्न पाउनेछन् ।
चुनावमा आयोगमा दर्ता भएकामध्ये ६१ दलले प्रत्यक्षतर्फ भाग लिएका छन् भने समानुपातिकतर्फ ४७ दलले सहभागिता जनाएका छन् ।


