काठमाडौं । नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा सरकारले ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमतिपछि आन्दोलन फिर्ता भएको छ ।
वार्तामा बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भएको संघका अध्यक्ष ईश्वर लामाले बताए ।
उनका अनुसार बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको छ ।
सहमतिअनुसार थानकोट डिपो र त्यहाँबाट प्रदेशभरि तेल ढुवानी गर्ने ९०० जना चालक तथा सहचालकले कोरोना खोप पाउनेछन् ।
यस्तै अमलेखगञ्जका झण्डै १ हजार ४०० चालक–सहचालकलाई उतै खोप दिने सहमति भएको लामाले बताए ।
आन्दोलित ट्यांकर चालक तथा सहचालकलाई खोप लगाउने विषयमा सहमति भएको र केहीबेरमा विस्तृत विवरण सार्वजनिक हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
कोरोनाविरुद्धको खोप नपाएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा बागमती प्रदेशभर आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध गरिएको थियो ।


