एजेन्सी । कोभिड–१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनको वर्ष हुने अपेक्षा गरिएको थियो ।
सन् २०२२ मा नयाँ युद्ध, उच्च मुद्रास्फीति र जलवायुसँग सम्बन्धित विपत्तिहरू आए । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा इतिहासकार एडम टुजले यो बर्षको सङ्कटलाई एक ‘पोलिक्राइसिस’ का रूपमा बर्णन गरेका छन् ।
सन् २०२३ मा थप निराशाको लागि तयार हुनुपर्ने आर्थिक विश्लेषकहरूले बताएका छन् । युनिभर्सिटी अफ एम्स्टर्डमका म्याक्रोइकोनोमिक्सका प्राध्यापक रोएल बीट्स्माले भने, “शताब्दीको सुरुदेखि नै सङ्कटको दायरा बढेको छ ।
“दोस्रो विश्वयुद्धपछि हामीले यस्तो जटिल अवस्था कहिल्यै देखेका थिएनौं,” उनले एएफपीसँग भने । सन् २०२० को कोभिड–१९ का कारण उत्पन्न आर्थिक सङ्कटपछि सन् २०२१ मा देशहरू लकडाउन र अन्य प्रतिबन्धबाट मुक्त भए । उपभोक्ता मूल्य वृद्धि हुन थाल्यो ।
केन्द्रीय बैङ्करहरूले अर्थतन्त्र सामान्य अवस्थामा फर्केपछि उच्च मुद्रास्फीति अस्थायी मात्र हुने बताएका थिए । तर फेब्रुअरीको अन्त्यमा रूसले युक्रेनमाथि गरेको आक्रमणले ऊर्जा र खाद्यान्नको मूल्य बढेको थियो ।
धेरै देशहरू अहिले जीवनयापनको लागतको सङ्कटसँग जुधिरहेका छन् । ज्यालाले मुद्रास्फीतिलाई कायम राख्न सकेको छैन, जसले गर्दा घरपरिवारहरू आफ्नो खर्चमा कठिन छनौट गर्न बाध्य छन् ।
केन्द्रीय बैङ्कहरूले छिटोछिटो ब्याजदर परिवर्तन र बैङ्कका नीति हेरफेर गरिरहेका छन् । उच्च ऋण लागतको अर्थ आर्थिक गतिविधि सुस्त हुनु हो भन्ने कारण देशहरूलाई गहिरो मन्दीमा धकेल्ने जोखिमका बीच उनीहरूले सन् २०२२ मा बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयासमा ब्याज दर बढाउन थाले ।
संयुक्त राज्य अमेरिका र युरा क्षेत्रमा मुद्रास्फीति अन्ततः कम हुन थालेको छ ।


