काठमाडौं । उपत्यका जिल्ला प्रशासकहरूले व्यवसाय सञ्चालन गर्न दिने व्यवस्था सहित असार १४ गतेसम्म निषेधाज्ञा थप गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बार अनुसार व्यवसाय सञ्चालन गर्न दिने गरी निषेधाज्ञा थप गरिएको जानकारी दिए । बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ पराजुलीले बताए ।
जिल्ला प्रशासन कार्यालयले आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन गर्न दिने व्यवस्था गरेको सीडीओ अधिकारीले बताए । त्यस्तै सोही दिन अटोमोबाइल र त्यसका पार्टपूर्जाको शोरुम तथा पसल पनि खोल्न पाइने व्यवस्था प्रशासनले गरेको छ ।
‘सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ,’ उनले भने ‘उक्त दिन नै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।’ खाद्यान्न, फलफूल र तरकारीको पसल चाहिँ हरेक दिन ११ बजेसम्म खुल्नेछ । पसल तथा व्यवसाय सञ्चालन गर्दा कम्तीमा २ मिटरको दुरी कायम गर्नुपर्नेछ ।
सवारी सधानमा भने जोर बारमा जोर नम्बरको गाडी र विजोरबारमा विजोर नम्बरको गाडी सञ्चालन गर्न पाइने निर्णय भएको छ । कार, जीप तथा भ्यानमा बढीमा चार जना र ट्याक्सीमा बढीमा तीन जनामात्र राखेर यात्रा गर्न पाइने छ । शैक्षिक संस्थाहरू अनलाइनबाट कक्षा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।
सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी गर्न बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ । प्रशासनले यस अघि जारी गरेको सम्पूर्ण सवारी पास खारेज गरेको छ ।
त्यसरी नै प्रशासनले सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, ब्युटी पार्लर, जिमखाना, पुस्तकालय तथा संग्राहलयलगायका कार्यालय खोल्न नपाउने व्यवस्था गरेको छ ।


