काठमाडौं । वाणिज्य बैंकको नाफा ३ अर्ब ७ करोडले बढेको छ । हाल कायम रहेका २२ मध्ये २० बैंकहरुको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नाफा ११.३६ प्रतिशतले बढेर ३० अर्व १३ करोड रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरुको नाफा २७ अर्ब ६ करोड रुपैयाँ थियो । तीन बैंक नेपाल इन्भेष्टमेन्ट, कुमारी बैंकको विवरण भने हालसम्म विवरण सार्वजनिक भएको छैन ।
यसमध्ये १३ वाणिज्य बैंकले पहिलेको भन्दा धेरै नाफा कमाउन सफल भएका छन् । एभरेस्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, सिभिल बैंक, सानिमा बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक र माछापुच्छ्रे बैंकले अघिल्लो पुस मसान्तसम्म भन्दा नाफा बढाएका हुन् । प्राइम बैंक, प्रभु बैंक, सनराइज बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक र कृषि विकास बैंक गरि ७ बैंकको नाफा वृद्धि भने नकारात्मक देखिएको छ ।
आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा एभरेस्ट बैंक सबैभन्दा धेरै नाफा वृद्धि गर्न सफल भएको छ भने कृषि विकास बैंकको नाफा अत्याधिक घटेको छ।
नाफा बढाएका यी हुन् १३ बैंक
यो अवधिमा सर्वाधिक नाफा एभरेष्ट बैंकको बढेको छ । सो बैंकको नाफा गत वर्षको तुलनामा ८९.२९ प्रतिशतले बढेर १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ८३ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६५.९४ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो वर्षको ६ महिनासम्म
१ अर्ब ५ करोड नाफा कमाएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले यसपटक सोही अन्तरालमा १ अर्ब ७५ करोड कमाएको छ ।
नबिल बैंकको खुद नाफा २ अर्ब १८ करोडबाट बढेर ३ अर्ब ४१ करोड रुपैयाँ पुर्याएको छ । यो ५६.६७ प्रतिशतको वृद्धि हो । नबिलले गत आर्थिक वर्षमा नेपाल बंगलादेश बैंकलाई आफूमा गाभेको थियो ।
उता, नेपाल एसबीआई बैंकले पनि यो अवधिमा ५०.३९ प्रतिशतले नाफा वृद्धि गरि १ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको छ । सो बैंकले कमाएको यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३९ करोड ४४ बढी हो ।
राष्ट्रिय वाणिज्य बैंकले दोस्रो त्रैमाससम्ममा नाफा ४१.२८ प्रतिशतले वृद्धि गरि २ अर्ब ७१ लाख पुर्याएको छ । अघिल्लो वर्षको सो अवधिमा बैंकको नाफा १ अर्ब ९१ करोड थियो ।
एनआईसी एशिया बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, सिभिल बैंक, सानिमा बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक र माछापुच्छ्रे बैंकले क्रमशः ३६.२७%, ३१.७७%, २८.४२%, २६.३९%, १९.३४%, ११.०८%, ४.४७% र १.४३% ले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
६ बैंकहरु नाफा वृद्धि गर्न असफल, एक बैंक नकारात्मक
यो अवधिमा बाँकी ७ बैंकको अवस्था भने खस्केको छ । त्यसमध्ये ६ बैंकको नाफा घट्दा कृषि विकास बैंक नोक्सानमा देखिएको छ ।
कृषि विकास बैंकले यो अवधिमा १२ करोड ८९ को नोक्सानी व्यहोरेको छ । सो बैंकले अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्व ४२ करोड नाफा गरेको थियो ।
त्यस्तै, सिटिजन्स बैंकको नाफा १ अर्ब २३ करोडबाट ८४ करोड १३ लाखमा झरेको छ । जुन ३२.११ प्रतिशतले कम हो ।
सिद्धार्थ बैंकको नाफा पनि यो अवधिमा २६.३८ प्रतिशतले घटेर १ अर्ब ५७ करोडबाट १ अर्ब १६ करोडमा झरेको छ ।
नेपाल बैंक, सनराइज बैंक, प्रभु बैंक र प्राइम कमर्सियल बैंकको पनि क्रमशः १७.३९%, १३.४५%, ४.९२% र १.५८ ले नाफा घटेको छ ।


ज्योति अधिकारी
