अष्ट्रेलियाको नयाँ ५ डलरको को नोटमा राजा चाल्र्सको फोटो नराखिने भएको छ । सेन्ट्रल बैंक अफ अष्ट्रेलियाले बेलायती सम्राटको तस्वीरलाई विस्थापन गर्दै पहिलो पटक अष्ट्रेलियाली आदिवासीको संस्कृति र इतिहास झल्किने तस्वीरसहितको नोट निष्कासन गर्न लागेको हो ।
अष्ट्रेलिया एक संवैधानिक राजतन्त्रात्मक मुलुक हो । उक्त देशको राज्य प्रमुखको भूमिकामा ब्रिटिस सम्राट चाल्र्र्स तृतीय रहेका छन् । गत सेप्टेम्बर ८ मा रानी एलिजावेथको निधन पछि राज्यको प्रमुखमा चाल्र्स नियुक्त भएका हुन् ।
एलिजावेथको निधनमा अष्ट्रेलियामा राष्ट्रिय शोक मनाइएको थियो तर केही आदिवासी समूहले बेलायतको विनाशकारी प्रभावको विरोध गर्दै राजतन्त्रको उन्मूलनका लागि आह्वान गरेका थिए ।
अष्ट्रेलियामा राजतन्त्र हटाउनुपर्ने माग पटकपटक उठ्दै आएको छ । पछिल्लोपटक सन् १९९९ मा अष्ट्रेलियामा राजतन्त्र रहने वा नरहने विषयमा जनमतसंग्रह भएकोमा राजतन्त्रको पक्षमा बढी मत आएकाले मा राजतन्त्र कायमै रहिआएको छ ।


