images
images

राज्य समर्थित 'बिटक्वाइन' निकाल्दै बेलायत, मूल्य पाउन्ड बराबर


  • 1.1K
    SHARES
  • २०७९ माघ २४ गते मंगलबार

    राज्य समर्थित 'बिटक्वाइन' निकाल्दै बेलायत, मूल्य पाउन्ड बराबर

    बेलायतले यसै दशकमा राज्य समर्थित डिजिटल मुद्रा जारी गर्ने भएको छ । डिजिटल युगमा प्रयोग गर्न सजिलो र सुरक्षित पैसामा जनताको पहुँच विस्तार गर्ने उद्देश्यका साथ बेलायती अर्थ मन्त्रालय र केन्द्रीय बैंकले सो योजना ल्याएको हो । 

    बैंक अफ इङ्ल्याण्डले डिजिटल मुद्रा निष्कासन गरेपश्चात् भुक्तानीका लागि सो मुद्रा ‘विश्वसनीय र पहुँचयोग्य’ हुनसक्ने अर्थमन्त्री जेरेमी हन्टको भनाइ छ । तर सन् २०२५ अघि भने त्यसको निर्माण गरिने छैन । वित्तीय स्थिरता कायम राख्नका लागि डिजिटल मुद्रामा के कति सम्भाव्यता छ भन्ने अनुसन्धान गरेर मात्रै सो योजना कार्यान्वयनमा ल्याइने अर्थमन्त्री हन्ट बताउँछन् । 

    अर्थ मन्त्रालय र बैंक अफ इङ्ल्याण्डले मंगलबार औपचारिक रुपमा डिजिटल मुद्राको लागि परामर्श सुरु गर्नेछ ।

    हाल विश्वबजारमा प्रचलित डिजिटल करेन्सीहरु कुनैपनि केन्द्रीय बैंकबाट समर्थन प्राप्त भएका छैनन् । सोही कारणले यस्ता करेन्सीहरुको मूल्यमा तीब्र रुपमा उतारचढाव हँुदै आएको छ । बेलायतले जारी गर्न लागेको उक्त मुद्रा बिटक्वाइन र इथरियम जस्तै ब्लकचेन प्रविधिका माध्यमबाट कारोवार हुने भएतापनि बैंक अफ इङ्ल्याण्डद्वारा समर्थित हुने भएकाले तुलनात्मक रुपमा ती मुद्राभन्दा विश्वसनीय हुनेछ । 

    त्यसरी जारी हुने डिजिटल मुद्रा र नगद दुबैको मूल्य बराबर रहने जनाइएको छ । डिजिटल मुद्रामा १० पाउण्ड बराबर नगदमा पनि १० पाउण्ड नै हुने अर्थ मन्त्रालयले जनाएको छ । 

    प्रधानमन्त्री ऋषि सुनकले सन् २०२१ मा अर्थमन्त्री रहँदा बैंक अफ इङ्ल्याण्डलाई समर्थित डिजिटल मुद्रामा पनि ध्यान दिन सल्लाह दिएका थिए । उक्त कार्यमा ढिलाइ हुनाले बेलायती अर्थव्यवस्थामा समस्या सिर्जना हुनसक्ने बारे सुनकका वित्तीय सेवा मन्त्री एन्ड्रयू ग्रिफितले अक्टोबरमा चेतावनी दिएका थिए । 

    बिबिसी


    images

    Logo