images
images

बढ्दो तनावका बाबजुद चुलिँदै अमेरिका र चीनबीचको कारोवार


  • 426
    SHARES
  • २०७९ माघ २५ गते बुधबार

    बढ्दो तनावका बाबजुद चुलिँदै अमेरिका र चीनबीचको कारोवार

    कुटनीतिक सम्बन्ध खासै राम्रो नभएपनि अमेरिका र चीनबीचको व्यापार हालसम्मकै उच्च अवस्थामा पुगेको छ । तथ्यांक अनुसार सन् २०२२ मा दुई देशबीच करिब ६९० अर्ब अमेरिकी डलर बराबरको व्यापार (आयात र निर्यात) भएको हो । द्विपक्षीय व्यापारले रेकर्ड कायम गर्दैगर्दा दुई देशबीचको सम्बन्ध सामान्य बन्न भने सकेको छैन । हालसालै चिनियाँ जासुसी बेलुन अमेरिकाको आकाशमा देखिएपछि वाशिंगटन र बेइजिङबीच थप तनाब बढेको हो । 

    सन् २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात भएका सामानहरुमा अतिरिक्त शुल्क लगाउने व्यवस्था गरेका थिए । सोही कारण चिनियाँ सामाग्रीको खरिदबिक्रीमा कमी आउन थालेपछि विश्वका दुई ठूला अर्थतन्त्रबीच तिक्तता बढेको थियो । यसका बाबजुद दुइ देशबीचको व्यापारमा उल्लेख्य रुपमा बढ्दै आएको छ । 

    सन् २०२२ को कुल व्यापारमध्ये चीनतर्फको अमेरिकी निर्यात १५३.८ अर्ब डलर पुगेको छ । तथ्यांकका अनुसार सो अवधिमा चीनबाट अमेरिकी आयात भने ५३६.८ अर्ब डलर पुगेको छ । अमेरिकी बजारहरुमा चीनमा उत्पादित खेलौना र मोबाइल फोनमा बढी खर्च गरिएका कारण चीनसँगको आयातमा वृद्धि भएको हो । जीवनयापनको बढ्दो लागतको परिणामका रुपमा दुई देशबीचको व्यापारमा भएको वृद्धिलाई हेर्न सकिन्छ । 

    तथ्यांकले वर्षौँको व्यापारिक युद्धका बाबजुद पनि दुई देश एकअर्कासँग कतिसम्म परनिर्भर छन् भन्ने तथ्यको इङ्गित गरेको छ । सो परनिर्भरता दुई देशबीचको पृथकीकरणमा आउनसक्ने कठिनाइको संकेतका रुपमा लिन सकिने एशियन ट्रेड सेन्टरका संस्थापक डेबोरा एल्म्स बताउँछिन् । ‘दुई देशका सरकार, कम्पनी र उपभोक्ताहरु छुट्टिन चाहेपनि, अर्थव्यवस्थाले त्यसरी छुट्टिएको विश्वमा उपभोक्ताले तिर्न चाहेको मूल्यमा वस्तु तथा सेवाको वितरणलाई कठिन बनाउँछ, बिबिसीसँगको संवादमा एल्म्सले भनिन् । 

    २०१८ मा ट्रम्प प्रशासनले चीन विरुद्ध व्यापारिक रणनीति बनाइ चिनियाँ सामानको अमेरिकी बजारमा माग घटाउने प्रयत्न गर्यो । दशकौंदेखिको बढ्दो चिनियाँ आयातलाई कम गर्ने मनशायले ट्रम्पले कुल ३०० अर्ब डलरभन्दा बढी मूल्यको सामानमा सीमाशूल्क लगाउने प्रावधान ल्याए । सो प्रावधानको जवाफ स्वरुप चीनले करिब १०० अर्ब अमेरिकी डलर बराबरको सामानमा आयात शूल्क लगाएको थियो । ट्रम्प सरकारले ल्याएको अधिकांश प्रावधानहरु जो बाइडेन राष्ट्रपति बनेको २ वर्षभन्दा बढी भइसक्दापनि कायमै रहेका छन् । 

    यसै महिना अमेरिकी विदेशमन्त्री दुई देशबीचको बिग्रँदो सम्बन्धलाई सुधार्ने मनशायले चीन भ्रमण गर्न लागेका थिए । सुरक्षा, ताइवान र कोभिड–१९ लगायतका विविध विषयमा वार्ता गर्न फेब्रुअरी ५ देखि ६ सम्म उनको बेइजिङ भ्रमण तय भएको थियो । तर चिनियाँ जासुसी बेलुन अमेरिकाको आकाशमा देखिएपछि सो यात्रा अचानक स्थगित गरिएको हो । चिनियाँ अधिकारीहरु भने सो बेलुन जासुसीका लागि नभइ सर्वसाधारणको प्रयोगको लागि भएको र अमेरिकी आकाशमा पुग्नु एक दुर्घटना मात्र भएको भन्दै बारम्बार स्पष्टीकरण दिँदै आएका छन् । 

    मंगलबारको ‘स्टेट अफ द युनियन’ को सम्बोधनमा बाइडेनले चिनियाँ बेलुनको बारेमा प्रत्यक्ष उल्लेख नगरेतापनि आफ्नो प्रशासनले सधैं आफ्नो सार्वभौमसत्ताको रक्षा गर्ने बताएका थिए । 

    अमेरिकाको हित हुने कामका लागि मात्र चीनसँग सहकार्य गर्ने र यदि त्यसले सार्वभौमसत्तालाई खतरामा पार्न खोज्छ भने देशको रक्षाका लागि काम गर्ने उनको भनाइ थियो । विदेशमन्त्रीको चीन भ्रमण रोकिनु सोही अनुरुपको कार्य भएको बाइडेनले बताएका थिए । बिबिसी


    images

    Logo