images
images

राङरुङमा (ट्रि क्लाइम्बिङ) रुखमा चढ्ने साहसिक खेल शुरु


  • 591
    SHARES
  • २०७८ आषाढ १५ गते मंगलबार

    राङरुङमा (ट्रि क्लाइम्बिङ) रुखमा चढ्ने साहसिक खेल शुरु

    दमौली । कोरोना कहरका कारण थला परेको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–७ राङरुङमा रुखमा चढ्ने (ट्रि क्लाइम्बिङ) सहासिक खेल शुरु भएको छ । 

    राङरुङलाई पर्यटकीय गन्तव्यस्थल बनाउन फरक गतिविधिको खोजीमा रहेको वडाकार्यालयले एसेट इन्ट्रोगिटी ग्रुपको प्राविधिक सहयोगमा रुखमा चढ्ने खेल सञ्चालन गरेको हो । डोरीको सहायताले रुख चढ्ने, रुखका विभिन्न स्थानमा डोरीमा झुण्डिएर वारपार गर्ने यो मनोरञ्जनात्मक खेलबाट आन्तरिक पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको भिमाद नगरपालिका–७ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठले बताए । 

    उनका अनुसार पछिल्लो समय साहसिक खेलतर्फ पर्यटकको आकर्षण बढ्दै गएकाले रुख चढ्ने खेल पर्यटकको रोजाइमा पर्नेछ । 

    यहाँ निर्माण गरिएको रुखमा एक पटकमा पाँच जनासम्म चढ्न मिल्ने जसमा पाँच वटा डोरी राखिएको छ, एकै पटक पाँच जना चढ्न मिल्छ, अहिले तत्कालका लागि ३० मिटरसम्म झुण्डिएर माथि जान सकिन्छ, वडाध्यक्ष श्रेष्ठले बताए । 

    कोठाभित्र यस प्रकारको खेल सञ्चालन भएको भएता पनि बाहिर भने नेपालमै पहिलो हुनसक्ने उनको दावी छ । यो वर्ष रकम अभाव भएकाले सबै काम गर्न सकेनौँ, आगामी वर्ष बजेट थप गरेर यसलाई व्यवस्थित बनाउँछौ, उनले भने, यसलाई प्रतियोगितात्मकरूपमा अगाडि बढाउने सोच छ । वडाले यसका लागि चालु आर्थिक वर्षमा रु दुई लाख ५० हजार बजेट विनियोजन गरेको थियो । 

    विभिन्न रमणीय स्थानको अवलोकन तथा हिमालको सुन्दर दृश्यावलोकनका लागि पिपलडाँडामा निर्मित दृश्यावलोकन केन्द्र, पिपलडाँडामै रहेको पार्क तथा स्थानीय मौलिक नेवारी परिकार पर्यटकको हटियामा रहेको झिङ्गु राङरुङ नेवाः होमस्टे, राङरुङ रिसोर्टका अतिरिक्त स्थानीय मौलिक कला र संस्कृति यहाँका प्रमुख आकर्षण हुन् । 

    शहरको केन्द्रित बसाइ रोक्न र आन्तरिक पर्यटन प्रवद्र्धन तथा स्थानीय कला र संस्कृतिको प्रचारप्रसार गर्नका यी केही आधारआधार भए पनि यति मात्रै पर्याप्त नभएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । त्यसका लागि गाउँमै गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारीका अतिरिक्त अन्य मनोरञ्जनको व्यवस्था हुन जरुरी रहेको उनको भनाइ छ । 

    यसका लागि विस्तृत गुरुयोजनाका साथ अगाडी बढ्ने बताउँदै उहाँले प्रारम्भिकरूपमा पर्यटकीय स्थलको रूपमा यस स्थललाई विकास गर्न आफू प्रयत्नरत रहेको जानकारी दिए । त्यसका लागि जिप फ्लाइङ, धुन्दुरमा ¥याफ्टिङ, ऐनाखोलामा मिनिचिडियाखाना, बोटानिकल गार्डेन तथा प्याराग्लाइडिङ सञ्चालन गर्ने योजना रहेको उनले बताए । 

    ट्रि क्लाइम्बिङ प्रवद्र्धन उपभोक्ता समितिको आयोजना र भिमाद नगरपालिकाको लगानीमा सञ्चालित उक्त कार्यको भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले शुभारम्भ गरेका थिए । 

    नगरप्रमुख थापाले आफू समग्र भिमाद नगरपालिकाको पर्यटन, कृषि, शिक्षा स्वास्थ्य, उद्योग, पूर्वाधारलगायत चौतर्फी विकासका लागि प्रतिवद्ध भएर लागिपरेको बताए । सबै कार्य एकैसाथ सम्पन्न गर्नका लागि आर्थिक तथा प्राविधिक व्यवस्थापनमा समस्या रहेतापनि क्रमिकरुपमा लक्ष्य प्राप्तिका लागि अग्रसर रहेको उनको भनाइ छ ।

    राङरुङमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यसहित ट्रि क्लाइम्बिङ सञ्चालनमा ल्याइएको ट्रि क्लाइम्बिङ प्रवद्र्धन उपभोक्ता समितिका अध्यक्ष भूपतीकुमार श्रेष्ठले जानकारी दिए ।


    images

    Logo