काठमाडौं । माघको तुलनामा फागुनमा झन्डै दोब्बर विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत फागुनमा १३ हजार ९ सय ४५ जनाले एनओसी लिएका छन् ।
माघमा अनुमतिपत्र लिनेको सङ्ख्या ७ हजार ६ सय १८ थियो । शाखाका प्रमुख वासुदेव वस्तीले जापानमा भाषा अध्ययनका लागि खुला भएकाले फागुनमा एनओसी लिनेहरूको सङ्ख्या बढेको हुन सक्ने बताए ।
माघ महिनामा जापानका लागि १ सय ५८ जनाले एनओसी लिएकोमा फागुनमा ८ हजार ९१ जनाले लिएका छन् । २५ हजार १ सय ५२ जनाले आवेदन दिएका थिए । गत महिना एनओसीबाट २ करोड ८९ लाख ४२ हजार रुपैयाँ राजस्व आर्जन भएको थियो ।
फागुनमा अस्ट्रेलियाका लागि २ हजार ६ सय १० जनाले र क्यानडाका लागि १ हजार ६ सय ६० जनाले एनओसी लिएका थिए । माघमा अस्ट्रेलियाका लागि २ हजार ५ सय १७ जना र क्यानडाका लागि २ हजार २ सय ४८ जनाले एनओसी लिएका थिए । सो महिना ३६ देशका लागि यस्तो लेटर जारी भएको थियो ।


