images
images

अपर तामाकोशी हाइड्रोपावरको सीईओमा मोहन गौतम नियुक्त


  • 275
    SHARES
  • २०७९ चैत्र २१ गते मंगलबार

    अपर तामाकोशी हाइड्रोपावरको सीईओमा मोहन गौतम नियुक्त

    काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लि.को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मोहन प्रसाद गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको यही चैत १४ गतेको २७२ औं बैठकले नेपाल विद्युत प्राधिकरणका ११ औं तह (निर्देशक)का गौतमलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    अपर तामाकोशी हाइड्रोपावर लि.स्वदेशी लगानीमा निर्माण भएको राष्ट्रिय गौरबको ४५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न संस्थापना भएको कम्पनी हो । कम्पनीले प्रवद्र्धन गरेको आयोजना निर्माण सम्पन्न भई हाल सञ्चालनमा छ ।

    नवनियुक्त सीईओ गौतमले कम्पनीले अगाडि बढाएको २१ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजनाको निर्माणलाई तिब्रता दिने, संस्थागत सुशासन कायम गर्ने र आयोजना निर्माणका क्रममा बाँकी रहेका विषयहरुलाई फरफारक गर्नेलगायतका काम आफ्नो प्राथमिकतामा रहेको बताए ।

    रोल्वालिङ खोलाको पानीलाई पथान्तरण गरी माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको जलाशयमा मिसाउँदा प्राप्त हुने हेडलाई प्रयोग गरी कम्पनीले २१ मेगावाटको छुट्टै आयोजना निर्माण गर्न लागेको छ। इन्जिनियरिङ, खरिद र निर्माण ढाँचामा आयोजना निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । आयोजनाबाट थप १० करोड ५० लाख युनिट वार्षिक ऊर्जा प्राप्त हुने छ । 

    साथै, रोल्वालिङ खोला  माथिल्लो तामाकोशीमा मिसाउँदा २१ करोड ६० लाख युनिट थप ऊर्जा प्राप्त हुने छ । योसँगै प्रणालीमा वार्षिक रुपमा ३२ करोड १० लाख युनिट ऊर्जा थप हुनेछ । रसियाको मस्को विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गौतमसँग जलविद्युत क्षेत्रमा २५ वर्षभन्दा बढी काम गरेको अनुभव छ । उनसँग बुटवल पावर कम्पनीमा कार्यरत रहँदा नर्वेजियन लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्ती–१ जलविद्युत आयोजनाको डिजाइन र निर्माण सुपरीवेक्षण गरेको अनुभव रहेको छ ।

    २०६०मा प्राधिकरणको सेवा प्रवेश गरेका उनले २०६४–२०७२ सम्म माथिल्लो तामाकोशी जलविद्युत आयोजनामै विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए । सीईओ गौतमले २०७२–२०७३ सम्म ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा आयोजना प्रबन्धक भएर काम गरेका थिए ।

    उनले २०७३–२०७९सम्म ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनीको प्रबन्ध–सञ्चालक भई काम गरिसकेका छन् भने उनले प्राधिकरणको प्रतिनिधित्व गर्दै हाल त्रिशूली र जगदुल्ला हाइड्रोपावर कम्पनीको सञ्चालक समेत रहेका छन् ।

    चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको अपर तामाकोशी हाइड्रोपावर लि.मा  प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चार कम्पनीको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २÷२ प्रतिशत संस्थापक सेयर स्वामित्व रहेको छ ।

    कम्पनीमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मजारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर स्वामित्व छ । 


    images

    Logo