काठमाडौं । सन् २०२३ मा विश्वको अर्थतन्त्र वृद्धिदर घट्ने पूर्वानुमान अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरेको छ । ‘वल्र्ड इकोनोमिक आउटलुक’ सार्वजनिक गर्दै आइएमएफले यो वर्ष विश्व अर्थतन्त्रको वास्तविक वृद्धिदर २.८ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको हो । सन् २०२४ मा उक्त वृद्धिदर बढेर ३ प्रतिशत पुग्ने अनुमान आईएमएफको छ ।
२०२३ मा उन्नत अर्थतन्त्रहरुको वृद्धि सुस्त रहने अनुमान गरिएको छ । २०२२ मा २.७ प्रतिशतले बढेको अर्थतन्त्र २०२३ मा १.३ प्रतिशतले मात्रै बढ्ने आईएमएफले जनाएको छ ।
यस वर्ष विश्वको औषत मुद्रास्फीति ७ प्रतिशत रहने अनुमान छ । २०२२ मा ८.७ प्रतिशत रहने अनुमान गरिएको सो दर यस वर्ष तुलनात्मक रुपमा कम रहने जनाइएको छ । अघिल्लो वर्षको तुलनामा दर कम रहने प्रक्षेपण गरिएतापनि लक्ष्यमा पुग्न २०२५ सम्म कुर्नपर्ने आईएमएफले जनाएको छ ।
वित्तीय क्षेत्रमा भएको उथलपुथल, उच्च मुद्रास्फीति, रुस–युक्रेन युद्धको प्रभावका कारण उक्त प्रक्षेपण सही नहुन सक्ने समेत आईएमएफले जनाएको छ ।


