काठमाडौं । विश्वको जनसंख्यामा अभूतपूर्व रुपमा बढ्दै गएको बुढ्यौलीपनलाई व्यवस्थापन गर्न प्रभावकारी आप्रवासनमा जोड दिनुपर्ने आवश्यकता विश्व बैंकले औंल्याएको छ । विश्व बैंकले हालसालै सार्वजनिक गरेको ‘द वल्र्ड डेभलपमेन्ट रिपोर्ट २०२३ः माइग्रेन्ट, रेफ्युजी एण्ड सोसाइटी’ नामक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो ।
प्रतिवेदनमा समृद्ध मुलुकहरुले अर्थतन्त्र सुधार्नको लागि आप्रवासीको मुख्य स्रोतको रुपमा प्रयोग गर्न सक्ने उल्लेख गरेको छ । उच्च तथा मध्यम आय भएका देशहरुमा नै जनसङ्ख्या घट्दो क्रम रहेको अवस्थामा श्रम तथा प्रतिभाका लागि विश्वव्यापी प्रतिस्पर्धा तीव्र बनेको छ विश्व बैंकले जनाएको छ ।
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनबर्गले भने, ‘समृद्धि र विकासका लागि बसाइसराइ सशक्त शक्ति हुनसक्छ’ । ‘यसलाई राम्रोसँग व्यवस्थापन गरियो भने यसले गन्तव्य र उत्पत्ति दुवै समाजका सबै मानिसहरुका लागि फाइदा दिन्छ’, उनले भने ।
आगामी दशकहरुमा स्पेन काम गर्नसक्ने उमेर समूहको जनसंख्या सबैभन्दा उच्च रुपमा घट्ने मुलुक बन्ने प्रक्षेपण गरिएको छ । हाल ४ करोड ७० लाख जनसंख्या उक्त देशमा सन् २१०० सम्ममा यस्तो जनसंख्या एक तिहाइ भन्दा बढीले संकुचित हुनेछ । यसको सट्टा ६५ वर्ष भन्दा माथिका मानिसहरुको जनसंख्या ३९ प्रतिशतसम्म पुग्न सक्नेछ । यस्तो अवस्थामा यो देशमा विदेशी कामदारको उच्च आवश्यकता हुनसक्छ । त्यस्तै, हाल सनसंख्या वृद्धि रोकिएको मेक्सिको, थाइल्यान्ड, ट्युनिसिया र टर्की जस्ता देशहरूलाई चाँडै थप विदेशी कामदारहरूको आवश्यकता पर्नेछ ।
पछिल्लो दशकमा शरणार्थीको संख्या झण्डै तीन गुणाले बढेको छ । जलवायु परिवर्तनले आप्रवासनलाई थप बढावा दिने खतरा पनि प्रतिवेदनमा औंल्याइएको छ । तर, हालका आप्रवासनसम्बन्धी विधिले सम्भावित विकास लाभहरू बढाउन नसक्ने अवस्था देखिन्छ ।
हाल विश्वको जनसङ्ख्याको २.५ प्रतिशत १८ करोड ४० लाख मानिसहरु देशबाहिर बस्छन् । जसमध्ये ३ करोड ७० लाख शरणार्थी रहेका छन् । उक्त जनसङ्ख्याको ४३ प्रतिशत हिस्सा विकासशील देशका छन् ।
प्रतिवेदनले बसाइँसराइलाई अझ राम्रोसँग व्यवस्थापन गर्नुपर्ने आवश्यकतालाई जोड दिएको छ । नीति निर्माताहरूले आप्रवासी कामदारहरूको प्रतिभा र उनीहरू बसोबास गर्ने समाजको आवश्यकताहरू बीचको मिलान सुधार गर्दै शरणार्थीहरूको सुरक्षा गर्न र विस्थापित आप्रवासनको आवश्यकतालाई कम गर्न प्रयास गर्नुपर्छ ।
‘यस वल्र्ड डेभलपमेन्ट प्रतिवेदनले आप्रवासन र शरणार्थी नीति बनाउन सहयोग गर्न सरल तर शक्तिशाली फ्रेमवर्क प्रस्ताव गरेको छ,’ विश्व बैंक समूहका प्रमुख अर्थशास्त्री र विकास अर्थशास्त्रका वरिष्ठ उपाध्यक्ष इन्दरमिट गिलले भने ।
गन्तव्य देशहरूले आप्रवासनलाई प्रोत्साहन गर्नुपर्छ जहाँ आप्रवासीहरूले ल्याएका सीपहरूको उच्च माग छ । उनीहरूलाई समावेश गर्न सहज बनाउनु पर्छ, र उनीहरूका नागरिकहरूमाझ चिन्ता उत्पन्न गर्ने सामाजिक प्रभावहरूलाई सम्बोधन गर्नुपर्छ। शरणार्थीहरूलाई जहाँ उपलब्ध छन् त्यहाँ जान दिनुपर्छ, जागिर पाउन र राष्ट्रिय सेवाहरू पहुँच गर्न दिनुपर्छ।


