भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका– ४ चाँगुमा छ वर्षपछि फेरी सामुदायिक होमस्टे (घरबास) सञ्चालन हुने भएको छ । २०७२ साल अघि स्थानीय केही घरमा संचालनमा रहेको होमस्टे त्यस यता बन्द रहेका थिए ।
भुकम्प र कोरोना महामारीपछि बन्द रहेका होमस्टे पुन: सुचारु गर्ने क्रममा स्थानीय २० जनालाई तालिम समेत दिइएको छ । त्यसैगरी होमस्टे व्यवस्थापनका लागि कृष्ण मगरको अध्यक्षतामा सञ्चालक समिति गठन गरिएको छ ।
चाँगुनारायण नगरपालिकाको आदिवासी जनजाति उत्थान कार्यक्रम अन्तर्गत १० दिने होमस्टे अभिमुखीकरण तथा आतिथ्यता तालिम भएको होमस्टे एशोसियन नेपालका सुरज बास्तोलाले बताए । तालिम समापन कार्यक्रममा बोल्दै चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले विश्व सम्पदा सूचिमा रहेको चाँगुनारायण क्षेत्रका सामुदायिक होमस्टेलाई आवश्यक सहयोग गर्ने बताए ।
प्रमुख मिश्रले भने, ‘पैसा नभएर काम रोकिदैंन, तपाईहरु इमान्दार हुनु पर्दछ, सहुलियतपूर्ण ब्याजमा नगरपालिकाले ऋण दिलाउन मद्दत गर्नेछ ।’ भक्तपुर आउने २०/२५ प्रतिशत पर्यटकलाई मात्र नगरकोट र चाँगु क्षेत्रमा आर्कषित गर्न सके स्थानीयको जीवनस्तर परिवर्तन गर्न सकिने प्रमुख मिश्रको भनाइ छ । स्थानीय भाषा, कला, संस्कृतिको संरक्षण गर्दै मौलिक खाना पाहुनालाई खुवाउन सके होमस्टे छिटै लोकप्रीय हुने विश्वास नगरप्रमुख मिश्रको छ ।
कार्यक्रममा बोल्दै चाँगुनारायण नगरपालिकाकी उपप्रमुख विना बास्तोलाले आर्थिक सम्वृद्धि र विकाशका लागि पर्यापर्यटन निकै महत्वपूर्ण हुने र त्यसको लागि होमस्टे एक माध्यम भएको बताइन् । कार्यक्रममा प्रशिक्षक राजकुमार लामिछाने, सुरज बास्तोला, मनिषा श्रेष्ठलगायतले होमस्टेका विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रममा चाँगुनारायण–४ का वडा अध्यक्ष बुद्धिलाल महर्जन, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्नि अधिकारी, वडा सदस्य दिनेश खनाल, सपना तामाङ्गलगायतको उपस्थिति रहेको थियो । चाँगुनारायण नगरपालिकाको वडा नं. ६ बाँस्तोला गाउँमा यसअघि नै सामुदायिक होमस्टे सञ्चालन हुँदै आएको छ ।


