images
images

अमेरिकाले दिने १५ लाख डोज खोप भोलि नेपाल आइपुग्ने, खोप एक मात्रा लगाए पुग्ने


  • 537
    SHARES
  • २०७८ आषाढ २७ गते आइतबार

    अमेरिकाले दिने १५ लाख डोज खोप भोलि नेपाल आइपुग्ने, खोप एक मात्रा लगाए पुग्ने

    काठमाडौं । अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ । 

    उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो । कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो । अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले महाविपत्तिको बेलामा मित्र राष्ट्र अमेरिकाको सहयोग महत्वपूर्ण भएको बताए । 

    राजदूत खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेषित गरेको पत्रको प्रत्युत्तरमा अमेरिकी राष्ट्रपति जो वाइडेनले नेपाललाई अधिकतम सहयोग गर्ने बताएको जानकारी दिए । राष्ट्रपति वाइडेनले राष्ट्रपति भण्डारीलाई प्रेषित गर्नुभएको पत्रलाई उदधृत गर्दै राजदूत खतिवडाले भने, अमेरिकी सरकारले जी–७ को बैठकले पारित गरेको खोपसम्बन्धी निर्णयलाई कार्यान्वयन गर्नेछ । हालै सम्पन्न जी–७ को बैठकले विश्वव्यापीरूपमा खोप वितरणलाई उच्च प्राथमिकतामा राखिने निर्णय गरेको थियो ।  
     
    अमेरिकाका सङ्घीय सरकारका जनप्रतिनिधिमार्फत नेपाललाई खोप उपलब्ध गराउनका लागि समन्वय गर्दै आएका मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक ह्यारी भण्डारीले अमेरिकी सरकारले नेपाललाई हरेक सहयोगमा प्राथमिकतामा राख्दै आएको बताए । कोरोना भाइरसका कारणले नेपालको अवस्था गम्भीर रहेको विषयलाई राजनीतिक तहमार्फत जनप्रतिनिधिहरूसँग निरन्तर समन्वय गर्दै आएकामा पहिलो प्रयास सफल भएको छ, उनले भने, यो एउटा सामूहिक पहलकदमी हो र सङ्घीय सरकारको नीतिगत व्यवस्थाअन्तर्गत कार्यान्वयन भएको हो, यो मानवीय सहयोगको महत्वपूर्ण पाटो पनि हो ।
     
    नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको छ तर खोपको माग अत्यधिक भएकाले कतिपय कम्पनीहरुले सन् २०२१ सम्मका लागि नयाँ सम्झौता गर्न नसकिने बताइरहेका छन् । नेपालले खोपको आयात गर्न र भण्डारण गर्न पूर्वाधारसमेत निर्माण गर्नुपर्ने हुन्छ । त्यसका लागि अझ बढी समय लाग्नसक्ने जानकारहरुको भनाइ छ । 


    images

    Logo