images
images

नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल तेस्रो लहरको तयारीमा जुट्यो, रु १३ करोडको लागतमा रेडियोलोजी भवन समेत निर्माण


  • 746
    SHARES
  • २०७८ आषाढ २७ गते आइतबार

    नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल तेस्रो लहरको तयारीमा जुट्यो, रु १३ करोडको लागतमा रेडियोलोजी भवन समेत निर्माण

    भक्तपुर । कोभिड–१९ को तेस्रो लहर आउनसक्ने जोखिम बढ्दै गएपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल मध्यपुरथिमिले त्यसको तयारी थालेको छ । अस्पतालले दोस्रो लहरको महामारीसँग जुध्दै तेस्रो लहरका लागि तयारी शुरु गरेको अस्पताल सञ्चालन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

    स्वास्थ्य विज्ञहरुले तेस्रो लहर आउने र त्यसको तयारी गर्नुपर्ने बताउँदै आएको तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले तेस्रो लहरको तयारी गर्न अस्पताललाई आह्वान गरेको छ । यसअघि नै अस्पतालले तेस्रो लहरबाट सङ्क्रमित बालबालिकासहितको उपचारमासमेत ध्यान दिँदै अस्पतालले तयारी थालेको हो ।

    नेपालमा पनि कोरोना भाइरसको डेल्टा भेरियन्टको नयाँ म्युटेसन देखापरिसकेको र यो थप सङ्क्रामक रहने भएकाले सङ्क्रमित बिरामीको उपचारमा ध्यान दिँदै अस्पतालले आवश्यक स्वास्थ्य सामग्री ल्याउने, शय्या थप गर्नेलगायत आवश्यक तयारी शुरु गरेको हो ।

    समितिका अध्यक्ष एवं नगरप्रमुख श्रेष्ठका अनुसार अस्पतालले आइसीयू, एचडीयू, भेन्टिलेटर र शय्या थप्ने काम धमाधम भइरहेको बताए । कोरोनाको दोस्रो लहरमा अस्पतालले १६ शय्याको आइसीयूसहित १०२ शय्या सञ्चालन गरेकामा अब थप शय्या व्यवस्थित गर्ने भएको छ । नगरप्रमुख श्रेष्ठले भने, कोरोना भाइरसको तेस्रो भेरियन्टको तयारीमा हामी जुटिसकेका छौँ, अहिले अस्पतालको प्रशासकीय भवनलाई माथिल्लो तलामा सारेर त्यसमा बच्चाका लागि कोभिड वार्ड बनाउन शुरु गरेका छौँँ, उमेरअनुसार ठूला–साना बच्चाका लागि नौवटा आइसीयूसहितको बच्चाको कोभिड वार्ड बनाउँदैछौँ ।

    अस्पतालले कोरोना भाइरस परीक्षणको दायरा बढाउने गरी पिसिआर मेसिनसमेत थप गर्ने भएको छ । हाल दुईवटा पिसिआर मेसिन सञ्चालनमा रहेको यस अस्पतालमा अब अर्को मेसिन थप गर्न लागेको उनले बताए ।

    अस्पतालमा रु १३ करोडको लागतमा रेडियोलोजी भवनसमेत निर्माण भएको छ । प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठमार्फत आएको वाग्मती प्रदेश सरकारको रु ५० लाख बजेट र नगरपालिकाको रु ३५ लाख बजेटमा रेडियोलोजी सेवा सञ्चालन गर्न भवन निर्माण भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । हाल दोस्रो तलाको ढलान सम्पन्न भएको छ ।

    तत्कालै त्यसलाई तयारी गर्दै दुईवटा तलामा अस्पतालले रेडियोलोजी, एमआरआई, सिटी स्क्यान, क्याथ ल्याब सेवा मेमोग्राम मेसिन सञ्चालन गर्दै मुटुका बिरामीको समेत उपचार शुरु गर्ने भएको हो । यी सेवा सञ्चालन गरेपछि यहाँका बिरामीलाई काठमाडौँ भौँतारिनुपर्ने अवस्था नआउने उनले दाबी गरे । मिर्गौलाका बिरामीलाई ध्यानमा दिँदै अस्पतालले थोरै शय्यामा डायलासिस सेवासमेत सञ्चालन गर्ने तयारी गरेको छ । अस्पतालले यसअघि पनि भक्तपुरमै पहिलोपटक पिसिआर मेसिन सञ्चालनमा ल्याउनुका साथै अक्सिजन प्लान्ट स्थापना गरी आफैँले उत्पादन शुरु गरेको थियो ।

    जनप्रतिनिधि आएपछि नगरपालिकाले सम्पूर्ण स्वामित्व लिँदै नगरप्रमुखको अध्यक्षतामा अस्पताल सञ्चालक समिति गठन गरेपछि यसको मुहार फेरिएको हो । विगतमा वार्षिक रु १० लाख स्थानीय विकास मन्त्रालयले बजेट पठाउँदै आए पनि जनप्रतिनिधि आएपछि सरकारको कुनै पनि निकायको अस्पताल सञ्चालनतर्फ बजेट आएको छैन । मन्त्रालयले दिँदै आएको बजेटसमेत काटेपछि नगरपालिका आफैले बजेटको व्यवस्थापन गर्दै अस्पताल सञ्चालन गरेको छ ।

    स्थानीय सरकारबाट सञ्चालित नेपालकै पहिलो अस्पतालका रूपमा रहेको नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा जनप्रतिनिधि आएसँगै कर्मचारी र स्वास्थ्यकर्मीको तलब मात्रै वृद्धि भएन, गुणस्तरीय एवं सुलभ सेवाका कारण अस्पतालमा बिरामीको चापसमेत अत्यधिक बढेको छ ।

    आफ्ना नागरिकका लागि सबै उपचार यहीँबाट दिने लक्ष्यका साथ सेवा विस्तार गर्दै आएको अस्पतालले मध्यपुरथिमिका सबै नागरिकलाई स्वास्थ्य बीमामा ल्याउन अनुदानको समेत व्यवस्था गरेको छ । अस्पतालमा मध्यपुरथिमि नगर क्षेत्रबाहेक भक्तपुर जिल्ला र पूर्वका विभिन्न जिल्लाका बासिन्दाले उपचार पाउँदै आएका छन् ।


    images

    Logo