काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ । श्रमिकको जीवन धान्ने ज्याला अपुग भएको जनाउँदै सरकारले यसमा वृद्धि गर्ने तयारी गरेको हो ।
श्रमिकको न्यूनतम ज्याला जीवन धान्न पुग्ने तहमा स्वतः बढ्ने गरी स्वचालित ज्याला प्रणाली विकास गर्ने योजना रहेको मन्त्रालयका सहसचिव राजिव पोखरेलले जानकारी दिए । “रोजगारदाता, श्रमिक र सरकारी अधिकारीवीच सहमति भएपछि न्यूनतम पारिश्रमिक वृद्धि हुनेछ, पोखरेलले आइतबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, “कति वृद्धि गर्ने भन्नेबारे त्रिपक्षीय छलफलपछि तय हुनेछ।” २०७८ साउनयता श्रमिकको पारिश्रमिक वृद्धि नगरिएका कारण आगामी आवमा जसरी पनि वृद्धि गर्नुपर्ने दबाब सरकारलाई छ ।
हाल प्रतिष्ठानमा काम गर्ने श्रमिकको तलव मासिक १५ हजार रुपैयाँ छ। श्रमिकले दैनिक ५ सय ७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ न्यूनतम पारिश्रमिक पाउँदै आएका छन् । श्रमिकले न्यूनतम पारिश्रमिक ९ हजार ३ सय ८५ मा महँगी भत्ता ५ हजार ६ सय १५ थप गरी १५ हजार रुपैयाँ पाउँछन् । यसका अतिरिक्त श्रम ऐनअनुसार सञ्चयकोष, उपदानसहितका सुविधा पनि उद्योग प्रतिष्ठानले उपलब्ध गराउनुपर्ने हुन्छ ।
आगामी आर्थिक वर्ष श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण हुने वर्ष भएकोले तलब वृद्धिलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ । ट्रेड युनियनकर्मीले महँगीको अनुपातमा कम्तिमा मासिक ७ हजार पारिश्रमिक वृद्धि हुनुपर्ने माग गर्दै आएका छन् ।


