images
images

भ्याटले प्याज आयात नहुँदा बजारमा हाहाकार


  • 454
    SHARES
  • २०८० जेठ ३२ गते बिहीबार

    भ्याटले प्याज आयात नहुँदा बजारमा हाहाकार

    काठमाडौं । भन्सार विभागका अनुसार ५ वर्षको अवधिमा नेपालमा २६ अर्ब १० करोड रुपैयाँको प्याज आयात भएको छ । स्वदेशमा कम उत्पादन हुँदा प्याजमा भारतमै भर पर्नुपर्ने अवस्था छ । सरकारले आर्थिक वर्ष (आव) २०८०÷८१ को बजेटमा प्याजमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाएसँगै अहिले बजारमा यसको अभाव देखिएको छ । 

    भन्सार विभागको अनुसार चालू आर्थिक बर्षको १० महीनामै ५ अर्ब ७९ करोडको प्याज आयात भएको छ । उक्त अवधिमा १५ करोड ५७ लाख १४ हजार ६३१ किलो प्याज आयात भएको हो । गत आवको सोही अवधिमा ५ अर्ब ४० करोड रुपैयाँको १४ करोड ५२ लाख ११ हजार ९७४ किलो प्याज आयात भएको थियो । अहिले भ्याटका कारण प्याज आयात गर्ने वातावरण नभएको व्यवासायीको गुनासो छ । 

    नेपाल कृषि उपज आलु, प्याज आयातनिर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेल प्याज, आलुलगायत वस्तुमा भ्याट लगाउँदा व्यवसायीले आयात गर्ने वातावरण नभएको बताउँछन् । ‘धेरैजसो क्रेता भ्याटमा दर्ता नभएको अवस्था छ । यस्तो अवस्थामा सरकारले अध्ययन र सरोकारवालासँग छलफल नै नगरी भ्याट लगाउने निर्णय गर्दा व्यवसायी मात्र नभएर उपभोक्ता पनि मर्कामा परे,’ उनले भने, ‘अहिले धेरैजसो व्यवसायी तत्काल प्याज आयात नगर्ने मनस्थितिमा छौं ।

    सरकारी नीतिका कारण प्याज आयात नै गर्न नसकेकाले समस्या समाधानका लागि सम्बद्ध मन्त्रालयदेखि विभिन्न निकाय धाइरहेको उनले बताए । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना प्याजमा भ्याट लगाउने निर्णयमा सरकार, अर्थ मन्त्रालय र सम्बद्ध निकायले पुनर्विचार गर्नुपर्ने बताउँछन् । 


    images

    Logo