काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गरेर भाडा बढाएको हो । विभागले यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले बढाएको छ । अब सार्वजनिक यातायात चढ्दा १५ रुपैयाँ भाडा तिर्दै आएका यात्रुले १९.२० पैसा तिर्नुपर्ने हुन्छ ।
सरकारले यात्रुबहाक सवारी साधनको भाडा ४.२० रुपैयाँले बढाए पनि अब यात्रुहरूले सार्वजनिक यातायात चढ्दा भने न्यूनतम २० रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ । किनकी उनीहरूले चेन पैसा नभएको भन्दै यात्रुसँग तोकिएको भन्दा केही पैसा बढी नै भाडा लिने गरेका छन् ।
तराईमा सञ्चालन हुने मालबाहक सवारी साधनमा २६ प्रतिशत र पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनको भाडादर २० प्रतिशतले बढाएको हो ।
सार्वजनिक यातायात सञ्चालनसाग सम्बन्धित लगानी तथा खर्चका सम्बन्धमा विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहरुसँग गरिएको परामर्श समेतका आधारमा पहिचान गरिएका यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायतका मुख्य सूचकहरुमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका भाडा बढाइएको सूचनामा उल्लेख छ ।
यसअघि २०७५ असोज ७ गत समेत बजार अध्ययनबाट नभई समग्रमा १० प्रतिशत भाडावृद्धि गरी समायोजन गरिएको थियो । विगत लामो समयदेखि बजार अध्ययन हुन नसकेकोले वैज्ञानिक भाडादर लागु हुन सकेको छैन ।
विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण हुँदै आएको छ ।
नेपालको संविधान २०७२ को अनुसूची ५ को बुंदा नं २० र अनुसूची ९ को बंदा नं १५ का आधारमा सरकारले गरेको कार्य विस्तृतीकरण र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ को उपदफा (१) बमोजिम सोही ऐनको दफा १५३ को खण्ड (घ) ले दिएको अधिकार प्रयोग गरेर भाडा वृद्धि गरिएको विभागको भनाइ छ ।
दुई वा सो भन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रियस्तरका सार्वजनिक यातायात रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीहरुको भाडादर विभागको २०७८ असार २९ गतेको निर्णयानुसार सोही मितिदेखि लागू हुनेछ ।


