काठमाडौं । नेपाल धितोपत्र बोर्डले १४ अर्ब ४ करोड मूल्य बराबरको हकप्रद सेयर निष्काशनको लागि अनुमति दिएको छ । बोर्डले चालु आवमा विभिन्न सात कम्पनीलाई १४ करोड कित्ता हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको हो । हकप्रद सेयर निष्काशनका लागि अनुमति पाएका कम्पनीहरूमा दुई वटा हाइड्रोपावर, दुई वटा फाइनान्स कम्पनी, एक विकास बैंक र एक हाइड्राइलेक्ट्रिसिटी कम्पनी रहेको छ ।
त्यसमा सबैभन्दा ठूलो परिमाणको हकप्रद सेयर हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको रहेको छ । कम्पनीले आफ्नो चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुर्याउने लक्ष्यका साथ एचआडिसिएलले हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
बोर्डले कम्पनीलाई रु ११ अर्ब बराबरको हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बोर्डले यही असार ९ गते हकप्रद शेयर बिक्रीको अनुमति दिएको हो । ।
हाल ११ अर्ब बराबरको चुक्ता पूँजी भएको कम्पनीले हकप्रद शेयर बिक्री गरेपछि कूल पूँजी २२ अर्ब बराबर पुग्नेछ । नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि स्थापना भएको सो कम्पनीले दर्जनभन्दा बढी आयोजनामा यसअघि नै लगानी गरिसकेको छ । कम्पनीले ७६२ मेगावाट क्षमताको तमोर जलाशयुक्त आयोजना र रोल्पामा आयोजनास्थल रहेको माडीखोला जलाशयुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारी गरिरहेको छ ।
नारायणी डेभलपमेन्ट बैंकले एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार २००, अरुण भ्याली हाइड्रोपावर कम्पनीले ५२ करोड ४१ लाख १९ हजार ७०० र अपि पावर कम्पनीले ५६ करोड ७० लाख बराबरको हकप्रद शेयर बिक्रीको अनुमति पाएको बोर्डका प्रवक्ता निरज गिरीले बताए ।
फाइनान्स कम्पनीलाई ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको हकप्रद सेयर बिक्रीको अनुमति दिएको छ । नागरिक लगानी कोषले पनि चालु आवमा नै हकप्रद सेयर बिक्रीको अनुमति पाएको हो । कोषले १६ करोड ९७ लाख ५० हजार ६२५ बराबरको हकप्रद सेयर बिक्रीको अनुमति पाएको हो ।
चालु आर्थिक वर्षमा शिखर इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, एक्सल डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, छ्याङदी हाइड्रोपावरले भने यस वर्ष हकप्रद सेयर निष्काशनको लागि अनुमति पाउन सकेका छैनन् ।
यस्तै बोर्डले चालु आवमा मात्रै २३ वटा बैंक तथा वित्तीय संस्थालाई २३ अर्ब ४ करोड बराबरको ऋणपत्र बिक्रीका लागि अनुमति पनि दिएको छ ।


