काठमाडौं । वाणिज्य बैंकहरुले कुल निक्षेप संकलन ४२ खर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा निक्षेप ७ खर्ब ११ अर्बले बढेर ४२ खर्ब १ अर्ब पुगेको नेपाल बैकर्स संघले जनाएको छ । आर्थिक वर्ष २०७६÷७७ को अन्त्यसम्म वाणिज्य बैंकहरुमा कुल निक्षेप ३४ खर्ब ८९ अर्ब रुपैयाँ थियो ।
यहिबीच वाणिज्य बैंकहरूले कर्जा प्रवाहलाई पनि बढाएर ३७ खर्ब २० अर्ब पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म वाणिज्य बैंकहरूले २९ खर्ब ५ अर्ब कर्जा प्रवाह गरेका थिए । १ वर्षको अवधिमा बैंकहरूको कर्जा प्रवाह ८ खर्ब १५ अर्ब रुपैयाँले बढेको छ ।
बैंकहरुको बढेको निक्षेप र कर्जाको हिस्सामा सबैभन्दा बढी योगदान एनआईसी एशिया बैंकको छ । एनआईसीले गत आवसम्म ३ खर्ब बराबरको निक्षेप संकलन गरी २ खर्ब ६४ अर्ब ८४ करोड कर्जा प्रवाह गरेको छ । गत आवमा मात्रै बैंकले ८९ अर्ब ४१ करोड निक्षेप संकलन गरी ९१ अर्बको कर्जा प्रवाह गरेको छ ।
दोस्रो धेरै निक्षेप बढाएकोबैंक ग्लोबल आईएमईले निक्षेप संकलन ५६ अर्बले बढाएर २ खर्ब ८३ अर्ब पुर्याएको छ । सिटिजन्स बैंकले निक्षेप ५० अर्बले बढाएको छ ।
आव २०७७÷७८ मा २ विदेशी बैंकको निक्षेप घटेको छ । गत आर्थिक वर्ष २०७६÷७७ को तुलनामा आव २०७७/७८ मा निक्षेप घटाउने बैंकमा स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल एसबीआई बैंक रहेका छन् ।
नेपाल एसबीआई बैंकको निक्षेप अघिल्लो वर्षको तुलनमा गत आवमा ४ अर्ब १८ करोड रुपैयाँले निक्षेप घटेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको २ अर्ब ९२ करोडले घटेको २ अर्ब ९२ करोडले घटेको छ ।
निक्षेप घटेपनि स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७२ अर्बले कर्जा प्रवाह बढाएको छ भने नेपाल एसबीआई बैंकले ७ अर्ब २७ करोडले कर्जा बढाएको संघको तथ्यांक छ ।
वाणिज्य बैंकहरूले गत वर्ष गरेको व्यवसाय हेर्दा निक्षेपको संकलनको तुलनामा कर्जा प्रवाह बढी भएको देखिन्छ । यसरी निक्षेप भन्दा कर्जा प्रवाह बढी हुँदा जोखिम बढ्न सक्ने आशंका गर्न सकिने प्रशस्त स्थान रहन सक्छ ।
बैंकहरूको कर्जा प्रवाहको अवस्थालाई हेरेर मौद्रिक नीति ल्याउने तयारी अवस्थामा बसेको नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहमा थप कडाइ गर्न सक्ने देखिएको छ । यसको अर्थ बैंकहरूलाई राष्ट्र बेंकले प्रोभिजनिङ बढाउन लगाउन सक्ने देखिएको छ । कोभिडका कारण कर्जा जोखिम बढ्न सक्ने आँकलन गर्न सकिन्छ ।
यद्यपि बैंकहरूले पछिल्लो समय खराब कर्जा घटाएर १ प्रतिशतको हाराहारीमा सीमित गरिसकेका छन् । बैंकहरुको कर्जा र निक्षेप अनुपात (सीसीडी) रेसियो पनि औषतमा ७७.८३ प्रतिशत रहेको छ । बैंकहरूलाई राष्ट्र बैंकले ८५ प्रतिशतभित्रै सीसीडी रेसियो राख्न निर्देशन दिएको छ ।


