काठमाडौं । पहिलो र दोस्रो लहरमा जस्तो कोभिडको तेस्रो लहरमा देशव्यापी लकडाउन गर्नु नपर्ने दाबी स्वास्थ्य मन्त्रालयले गरेको छ । सोमबार संघीय संसदको स्वास्थ्य समितिमा प्रतिवेदन प्रस्तुत गर्दै मन्त्रालयले यस्तोे अनुमान गरेको हो ।
मन्त्रालयले आगामी असोज १५ गतेदेखि कोभिडको तेस्रो लहर सुरु हुनसक्ने मन्त्रालयले बताउँदै आगामी ५ महिनाभित्र ३८ हजार व्यक्ति कोभिड संक्रमित भइ अस्पताल आउनसक्ने जनाएको छ ।
यस्तो अवस्थामा करिब २ लाख व्यक्तिमा कोरोना संक्रमण हुनेछ । जसमध्ये करिब १० हजार व्यक्तिलाई आईसीयूको आवश्यकता पर्न सक्नेछ ।
‘कोभिड–१९ को वर्तमान अवस्था तथा संक्रमणदरलाई हेर्दा तेस्रो लहर असोज १५ देखि मंसिर महिनाको बीचमा फेरि आउन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । आधारभूत स्वास्थ्य मापदण्ड पालना गर्दा यो समय केही पछाडि जान समेत सक्नेछ ।
मन्त्रालयले तेस्रो लहरको सम्भावित क्षतिबाट बच्न यो अवधिमा ६० प्रतिशत नागरिकमा खोप पुर्याउनुपर्ने निष्कर्ष समेत निकालेको छ । तर, अबको लहरमा पहिलो र दोस्रो लहरजस्तो देशभर लकडाउन गर्नुपर्ने अवस्था भने नआउने समेत मन्त्रालयको भनाइ छ ।


