मेटा कम्पनीका मालिक मार्क जुकरबर्गले आफ्नो नयाँ सामाजिक सञ्जाल प्लेटफर्म थ्रेडले आफ्ना आधाभन्दा बढी प्रयोगकर्ता गुमाएको बताएका छन् ।
ट्वीटरसँग प्रतिस्पर्धा गर्नका लागि जुलाईको सुरुमा ल्याइएको उक्त एपले सुरु भएको ५ दिनमा नै १० करोड (१०० मिलियन) भन्दा बढी प्रयोगकर्ता बनाउन सफल भएको थियो । तर जुकरबर्गले ती संख्याहरू अब घटेको स्वीकार गरेका छन् ।
‘यदि तपाईँसँग १० करोड भन्दा बढी प्रयोगकर्ताहरु छन् र त्यसको आधामात्रैले त्यो एप चलाए भने पनि एप राम्रो भएको नै मान्न सकिन्छ । तर हामी त्यस स्थितिमा पनि छैनौं’ उनले भने ।
जुकरबर्गले उक्त स्थितिलाई ‘सामान्य’ रहेको बताउँदै एपमा सुधार गर्दै लैजाँदा प्रयोगकर्ताहरु बढ्ने अपेक्षा गरेको मेटाका कर्मचारीहरु बताउँछन् ।
एप सुरु भएको केही समयमा नै सीमित कार्यक्षमताका भन्दै थ्रेडको आलोचना भएको थियो ।
‘फलो गर्ने’, ‘फर यू’ फिड र पोस्टहरुलाई विभिन्न भाषामा अनुवाद गर्ने जस्ता व्यवस्था मेटाले थपेको छ ।
कम्पनी उक्त प्लेटफर्ममा मानिसहरुलाई फर्काउन एक एपबाट अर्कोमा सहजता हुने ‘रिटेन्सन ड्राइभिङ हूक’ थप्नमा केन्द्रीत रहेको कम्पनीका प्रमुख उत्पादन अधिकारी, क्रिस कोक्सले कर्मचारीहरूलाई भने ।
उनले ‘इन्स्टाग्राम चलाउने मानिसहरुले थ्रेड हेर्न सक्छन्’ भन्ने उदाहरण दिए । ‘दुई प्लेटफर्महरु नजिकबाट बाँधिएका छन्, थ्रेडका लागि साइनअप गर्न प्रयोगकर्ताहरुसँग इन्स्टाग्राम अकाउन्ट आवश्यक छ’ भन्दै आफ्नो योजनाबारे प्रष्ट पारे ।
जुकरवर्गले ‘मेटाभर्स’ भनिने भर्चुअल दुनियाका लागि कम्पनीले ठूलो दाउमा लगाएकोबारे पनि कर्मचारीहरुलाई अद्यावधिक गराए ।
उनले अगमेन्टेड रियालिटी (एआर) र भर्चुअल रियालिटी (भीआर) प्रविधिमा काम गर्नेबारे कर्मचारीहरुलाई बताए । र आफूहरु त्यसका लागि ‘निर्धारित समयमै रहेको, ट्रयाक बाहिर नगएको’ उनले बताए । ती प्रविधिमा अर्को दशकसम्म मुख्यधारमा नजाने उनले बताए ।
भीआर हेडसेट लगायतका अन्य सामाग्रीहरु उत्पादन गर्न मेटाको रियलिटी ल्याब्स डिभिजनले धेरै समय र पैसा खर्च गरेका कारण कम्पनीको चिन्ता भने केही हदसम्म बढेको छ ।
समग्रमा कम्पनीले वित्तीय रूपमा राम्रो प्रदर्शनलाई निरन्तरता नै दिएको छ । यही हप्ता मात्रै कम्पनीले अघिल्लो त्रैमासमा ७.७९ बिलियन डलर नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको थियो ।
बीबीसी


