काठमाडौँ । नेपाल टेलिकम र एनसेलले वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन स्याङजामा शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरेको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जा वालिङ नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई सिमकार्ड बितरण गरेको हो । सात हजार ५०० जनालाई टेलिकम र एनसेलले इन्टरनेट प्याकेजसहितको सिमकार्ड निःशुल्क उपलब्ध गराएको हो ।
“विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ का कारण विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन हुने स्थिति रहेन”, शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले भने, “सबै विद्यार्थीको पहुँचमा इन्टरनेट सेवा उपलब्ध नहुँदा वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुन नसकेकाले टेलिकम र एनसेलको सहयोगमा इन्टरनेट प्याकेजसहितको सिमकार्ड निःशुल्क उपलब्ध गराएका हौं ।”
नगरभित्रका १४ वडाका ७२ सामुदायिक विद्यालयका ४५० शिक्षकसहित सात हजार ५०० विद्यार्थीलाई उनीहरुको ठाउँमा जुनजुन कम्पनीको सेवा राम्रो छ सोही अनुसारका सिम उपलब्ध गराइएको शाखा प्रमुख सापकोटाले बताए।
सामुदायिकतर्फ ५६ आधारभूत विद्यालय र १६ माध्यमिक विद्यालय रहेको नगरपालिकाभित्र पाँच हजार नेपाल टेलिकमका सिमकार्ड र दुई हजार ५ सयएनसेलका सिमकार्ड निःशुल्क वितरण गरिएको हो ।
नेपाल टेलिकमको सिमकार्डमा इन्टरनेट प्याकेजका लागि ३ सय २१ रुपैयाँ र एनसेलको सिमकार्डमा ३ सय १० रुपैयाँले एक महिनासम्म इन्टरनेट चलाउन सकिने छ । त्यसपछि शिक्षक÷विद्यार्थी आफैले रिचार्ज गर्नुपर्ने छ ।
“वैकल्पिक शिक्षण क्रियाकलापका लागि जिल्लामै नगरपालिकाले सञ्चालन गरेको यो अभियान पहिलो र नयाँ हो”, सापकोटाले भने, “सबै विद्यार्थी तथा शिक्षकको हात–हातमा इन्टरनेट प्याकेजसहितको सिमकार्ड भएपछि शिक्षण सिकाइ क्रियाकलाप थप प्रभावकारी हुने विश्वास लिएका छौं ।”


