images
images

नर्सिङ शिक्षामा कानुनी समस्या, २२८ प्राविधिक शिक्षालय बन्द 


  • 451
    SHARES
  • २०८० श्रावण २७ गते शनिबार

    नर्सिङ शिक्षामा कानुनी समस्या, २२८ प्राविधिक शिक्षालय बन्द 

    काठमाडौं । विद्यार्थी भर्नामा देखिएको कानुनी उल्झनका कारण दुई वर्षमा मुलुकभरका २ सय २८ वटा प्राविधिक शिक्षालय बन्द भएका छन् । विगतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालनमा रहेका ती संस्था चिकित्सा शिक्षा आयोगले तय गरेको नयाँ व्यवस्थाका कारण बन्द भएका हुन् । 

    आयोगमार्फत निकै अव्यावहारिक व्यवस्था लागु गरेर आफूहरूको अर्बौं रुपियाँ बराबरको लगानी जोखिममा पर्दा पनि सहजीकरणका लागि सरकारले असहयोग गरेको भन्दै शिक्षालय सञ्चालकले आपत्ति जनाएका छन् । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को प्रावधान अनुसार गठन भएको चिकित्सा शिक्षा आयोगले काम सुरु गरेपछि ती संस्था बन्द भएका हुन् । 

    चिकित्सा शिक्षा ऐन २०७५ मा स्नातक तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्ने शिक्षालयको दुई वर्षभित्र एक सय शय्याको आफ्नै अस्पताल हुनुपर्ने व्यवस्था गरिएको छ । उक्त ऐन आउनुअघि नर्सिङ कलेजलाई १ सय शय्याको आफ्नै अस्पताल नभए पनि अन्य अस्पतालसँग सम्झौता गरेर पठनपाठन सञ्चालन गर्न सकिने व्यवस्था थियो । उक्त व्यवस्था कार्यान्वयन गर्न कठिन हुने शिक्षालय सञ्चालकको दाबी छ ।

    दुई वर्षमा अस्पताल बनाउन सम्भव नरहेको सिटिइभिटीबाट सम्बन्धन लिएर सञ्चालनमा रहेका प्राविधिक शिक्षालयको साझा संस्था फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका अध्यक्ष डा नेत्रलाल चटौतले बताए । 

    उनले भने, “सरकार आफैँले ऐन ल्याएपछि नियमावली ल्याउन दुई वर्ष लगायो भने हामीले चाहिँ दुई वर्षमा एक सय शय्याको अस्पताल कसरी बनाउन सक्छौँ ? योजना अनुसार बनाउन आर्थिक रूपले पनि पाँच वर्ष लाग्छ ।”

    सो संस्थाका अनुसार दुई वर्षभित्रमा बन्द भएका शिक्षालयमध्ये प्रिडिप्लोमा तहका स्वास्थ्य विषयका १३७ वटा, डिप्लोमा तहका (स्टाफ नर्सको पढाइ हुने) ७३ वटा, स्नातक तह (बिएन) का १० वटा र बिएस्सी नर्सिङका ८ वटा छन् । 

    फोरमका अध्यक्ष डा चटौतले शैक्षिक संस्था बन्द भएपछि तीन वर्षको अवधिमा प्रिडिप्लोमा तहमा वार्षिक ९ सय ३० जना, डिप्लोमा तहमा २ सय ९० जना र स्नातक तहमा १ सय १६ गरी जम्मा १ हजार ३ सय ३६ जना विद्यार्थीको छात्रवृत्तिमा अध्ययन गर्ने अवसर गुमाएको बताए ।

     


    images

    Logo