काठमाडौं । अर्थतन्त्रका ७ क्षेत्रमा देखिएको अत्यधिक मूल्यवृद्धिका कारण देशको समग्र मुद्रास्फीति नियन्त्रण बाहिर पुगेको छ । नेपाल राष्ट्र बैंकले तोकेका २२ क्षेत्रमध्ये यी क्षेत्रको मूल्यवृद्धिको स्तर अत्यधिक देखिएको हो । राष्ट्र बैंकले यो वर्ष औसत मुद्रास्फीति ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिए पनि आर्थिक वर्षको अन्त्यसम्म मुद्रास्फीति ७.४४ प्रतिशत पुगेको हो ।
यो अवधिमा खासगरी अन्न, दुध तथा मासु एवं मसलाजन्य वस्तुहरुको मूल्य अत्यधिक बढेको देखिएको छ । अन्नमा १२.७९ प्रतिशत, दुध तथा अण्डामा ११.६५ प्रतिशत, मसलामा ४४.९७ प्रतिशत एवं होटल तथा रेष्टुरेन्टको मूल्यमा शिक्षा संस्कृति तथा रिक्रिएसन, अन्य गैरखाद्य वस्तु मसलागन्य वस्तुहरु, १२.७० प्रतिशत वृद्धि भएको छ ।
त्यस्तै, गैरखाद्य वस्तु तथा सेवार्फ शिक्षा क्षेत्रको मूल्यवृद्धि १०.५६ प्रतिशत, संस्कृति तथा रिक्रियसनसम्बन्धी वस्तु तथा सेवाको १५.७५ प्रतिशत र अन्य वस्तु तथा सेवाको १०.८० प्रतिशत मूल्यवृद्धि भएको छ ।
त्यस्तै, यो वर्ष तेल तथा घ्यूजन्य पदार्थमा १६.४८ प्रतिशतले मूल्य गिरावट आएको छ । त्यस्तै सवारी भाडामा ०.१५ प्रतिशत मूल्यह्रास भएको राष्ट्र बैंकले जनाएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको गिरावटको कारणले यो क्षेत्रको मूल्यमा केही नियन्त्रण भएको हो ।
अर्थतन्त्रमा दोहोरो अंकको मूल्यवृद्धिको अवस्थालाई हाइपर इन्फ्ेसन मानिन्छ । यो वर्ष अन्य क्षेत्रको मूल्यवृद्धि १० प्रतिशत भन्दा कम रहे पनि घरभाडा, कपडा, फर्निचर, औषधि तथा स्वास्थ्य सेवा तथा सुर्तीजन्य पदार्थ समेतको मूल्य लक्ष्यभन्दा धेरैले बढेको छ । उपभोगको भार धेरै हुने क्षेत्रको अत्यधिक मूल्यवृद्धिले समग्र बजारमा मूल्यवृद्धिको चाप परेको हो ।
राष्ट्र बैंकले हाल हिमाल, पहाड तथा तराइ क्षेत्रमा पर्ने देशका ६० वटा बजार केन्द्रबाट तथ्यांक संकलन गरेर मूल्यस्तर मापन गर्ने गर्दछ । यसका लागि ४९४ वटा वस्तुलाई नमुना संकलनको रुपमा छनौट गरिने चलन छ । यसलाई २२ वटा क्षेत्रमा विभाजन गर्दा समग्रमा यस्तो अवस्था देखिएको हो ।


ज्योति अधिकारी
