images
images

द्वन्द्वग्रस्त युक्रेन बन्यो नेपालको चौथो निर्यातकर्ता, कसरी उक्लियो १२ स्थान माथि ?


  • 655
    SHARES
  • २०८० आश्विन ८ गते सोमबार

    द्वन्द्वग्रस्त युक्रेन बन्यो नेपालको चौथो निर्यातकर्ता, कसरी उक्लियो १२ स्थान माथि ?

    काठमाडौं । द्वन्द्वग्रस्त युक्रेन नेपालको चौथो निर्यातकर्ता मुलुक बनेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौ महिनासम्मको आयात निर्यातको विवरण अनुसार नेपालले युक्रेनबाट २ अर्ब ८१ करोड रुपैयाँ बराबरको सामान आयात गर्दै चौथो स्थान लिएको हो । 

    नेपालमा निर्यात गर्ने मुलुकमा युक्रेनभन्दा अगाडी भारत, चीन र संयुक्त अरब इमिरेट्स छन् । यो अवधिमा नेपालले भारतबाट सबैभन्दा धेरै २ खर्ब ५९ अर्बको आयात गरेको छ । त्यस्तै, चीनबाट ४६ अर्ब ५४ करोड, संयुक्त अरब इमरेट्सबाट ५ अर्ब ६३ करोड बराबरको सामान आयात गरेको छ । 

    युक्रेनले अघिल्लो वर्ष दुई महिनाको नेपालको प्रमुख निर्यातकर्ता मुलुकमा १२ स्थान फड्को मारेको छ । आर्थिक वर्ष २०७९/८० को दुई महिनामा युक्रेन नेपालको १६ औं निर्यातकर्ता थियो । यो अवधिमा युक्रेनबाट नेपालमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको सामान आयात भएको थियो । यस वर्ष यो आकार बढेर २ अर्ब ८१ करोड पुगेको छ जुन करिब ९४ प्रतिशतको बढोत्तरी हो । 

    दुई महिनामा युक्रेनबाट के–के आयो ?

    चालू आर्थिक वर्षको साउन र भदौमा युक्रेनबाट नेपालमा १६ प्रकारका सामान आयात भएका छन् । त्यसमध्ये सबैभन्दा धेरै सूर्यमुखीको कच्चा तेलको आयात भएको छ । यो अवधिमा उक्त मुलुकबाट २ अर्ब ४८ करोड रुपैयाँ बराबरको १ करोड ८३ लाख लिटर सूर्यमुखी तेल आयात भएको छ । 

    त्यस्तै, तोरी र यसको तेल गरी २९ करोड ७० लाख रुपैयाँ बराबरको आयात भएको छ । नेपालले २ करोड ५१ लाख रुपैयाँ बराबरको सोयाबिन कच्चा तेल युक्रेनबाट भित्र्याएको छ । प्रशोधित सूर्यमुखीको तेल भने ९३ लाख ५५ हजार रुपैयाँ बराबरको आयात भएको छ । 

    त्यसबाहेक प्लेन र हेलिकप्टरका पाटपुर्जा, कपडा लगायतका अन्य सामानहरु पनि युक्रेनबाट आयात भएको छ । युक्रेनबाट भएको कुल आयातबाट सरकारले ६३ करोड ६४ लाख ९२ हजार रुपैयाँ बराबरको भन्सार राजस्व संकलन गरेको जनाइएको छ । यस समयमा युक्रेनमा नेपालबाट भएको निर्यात भने शुन्य छ । 

    गत साउन भदौको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा युक्रेनबाट नेपालमा हुने आयात करिब ९४ प्रतिशतले बढेको भएता पनि आयात बढेर मात्रै युक्रेन नेपालको चौथो आयातकर्ता बनेको भने होइन । इण्डोनेशिया, अर्जेन्टिना, जोर्डन, बेल्जियम, अमेरिका, ओमन लगायत मुलुकबाट हुने आयातमा गिरावट आउँदा युक्रेन चौथो नम्बरमा उक्लिएको हो । 

    किन घट्यो ती देशहरुको आयात ?

    इण्डोनेशियाबाट ठूलो मात्रामा अघिल्लो वर्ष नेपालमा पाम आयलको कच्चा पदार्थ आयात हुन्थ्यो । कुल ८ अर्ब ८२ करोडको आयातमध्ये ६ अर्ब ३२ करोडको यस्तो आयात भएको थियो । यो वर्ष १ अर्ब ३८ करोडमा झरेको छ । सोही कारण यो अवधिको आयात २ अर्ब ५० करोड रुपैयाँमा सीमित भएको छ । 

    त्यस्तै, दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाबाट अघिल्लो आवको दुई महिनामा ६ अर्ब ८६ करोडको आयात भएको थियो । यस वर्ष यो घटेर १ अर्ब ७८ करोडमा सीमित भएको छ । सो मुलुकबाट भएको आयातमध्ये ६ अर्ब ४ करोडको सोयाविन तेल थियो । अहिले यस्तो आयात घटेर १ अर्ब ४२ करोड रुपैयाँमा झरेको छ । 

    जोर्डनबाट साउन भदौमा करिब साढे ४ अर्बको रासायनिक मल आयात भएको थियो । यो वर्ष त्यहाँबाट मल आयात नहुँदा प्रमुख आयातकर्ताको सूचीमा निकै तल पुगेको छ । त्यस्तै, शुन्य भन्सारमा फाइजर खोप आयात हुँदा माथि पुगेको यो सूचीमा माथि पुगेको बेल्जियम यो वर्ष तल झरेको छ । 

    त्यस्तै, अमेरिकाबाट आयात हुने सोयाबिनको पिना, हाडे बदाम तथा हेलिकोप्टरका सामानहरुको आयात घटेको छ । भट्टमास र यसको त्लको आयात भने यो अवधिमा स्थिरजस्तै छ । त्यस्तै, युरिया र सिमेन्ट उद्योगको कच्चा पदार्थ जिप्समको मुख्य निर्यातकर्ता मुलुक ओमनबाट समेत यो वर्ष आयात घट्दा कुल आयात रकम घट्न पुगेको छ । यसले युक्रेनको स्थानलाई माथि पुर्याएको छ । 




    images

    Logo