काठमाडौं । सरकारले कोरियन एयरको नेपाल उडान नरोक्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरियन एयरले दुई देशबिचको हवाई सेवा सम्झौताको प्रावधानविपरीत महँगो टिकट शुल्क लिएर एकलौटी उडान गर्दै आएको र नेपाल वायुसेवा निगमको नियमित उडानलाई प्रभावित पार्दै आएको जनाउँदै अक्टोबर २९ तारिखदेखि सुरु हुने विन्टर सेड्युलका टिकट बिक्री नगर्न निर्देशन दिएको थियो।
प्राधिकरणले कोरियन एयरको नेपालका लागि जनरल सेल्स एजेन्ट युनिभर्सल ट्राभल्सलाई टिकट बिक्री नगर्न निर्देशन दिएको थियो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्राधिकरण र कोरियाको नागरिक उड्डयन हेर्ने निकाय भूमि, पूर्वाधार तथा यातायात मन्त्रालय (मोलिट) सँग भएको छलफलमा नेपालबाट पनि कोरिया उडान सुरु गर्न सहमतिसहित कोरियन एयरको उडान नरोकिने बताए।
उनले भने, “प्राधिकरण र मोलिटसँग भएको छलफलपछि यही अक्टोबर १५ देखि १९ तारिखसम्म बङ्गलादेशको ढाकामा हुने एसिया प्रशान्त क्षेत्रका नागरिक उड्डयन महानिर्देशकहरूको ५८ औँ सम्मेलनमा निगमको एसिसमेन्ट मिसन (अडिट) को मिति तोक्ने र लगत्तै काठमाडौँ–सियोल उडान सञ्चालन गर्नेबारे मोलिट सहमत भएको छ । हाललाई कोरियन एयरको उडान निरन्तर रहन्छ।”
नेपालसँगको हवाई सेवा सम्झौता अनुसार नेपाली जहाजका लागि कोरियामा उडान अनुमति माग गर्दा कोरिया सरकार र त्यहाँको नागरिक उड्डयन हेर्ने निकायले विभिन्न कारण देखाएर उडान प्रक्रियामा ढिलाइ गरेपछि कोरियन एयरको नेपाल उडान रोक्ने चेतावनी दिएको तर दुई देशबिचको हवाई सम्झौतालाई असर गर्ने प्राधिकरणको मनसाय नरहेको समेत उनले बताए ।
कोरियाले गर्ने निगमको एसिसमेन्ट मिसनमा उडान सुरक्षा र प्राविधिक सुरक्षामा देखिने कुनै कमजोरीबारे प्राधिकरण सुधारमा सहयोग पु¥याउने उनको भनाइ छ । उनले कोरियाले नेपाललाई उडान अनुमति दिनका लागि आफूले प्राधिकरण र निगमको अडिट गर्नुपर्ने सर्त अघि सारेपछि प्राधिकरणले सम्झौता अनुसार दोहोरो उडान गर्नुपर्ने र कोरियन एयरको एकलौटी प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा अघि सारेको बताए ।
नेपाल सरकार र कोरिया सरकारबिच सन् १९८८ र १९९८ मा दुई पटक हवाई सेवा सम्झौता गर्ने समझदारी भएको स्मरण गराउँदै उहाँले त्यसपछि सन् २००१ मा भएको पहिलोे सम्झौता अनुसार दुवै देशले हप्तामा दुई/दुई उडान गर्ने सहमति गरेका थिए । त्यस्तै सन् २००४ भएको हवाई सेवा सम्झौता पुनरवलोकनमार्फत हप्तामा चाररचार उडान गर्न सम्झौता भएपछि कोरियन एयरले सन् २००६ को नोभेम्बर ३० बाट नेपालमा उडान सुरु गरेको हो। अहिले पनि कोरियन एयरले हप्तामा चार उडान गरिरहेको छ ।


