images
images

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक


  • 535
    SHARES
  • २०८० आश्विन २६ गते शुक्रबार

    नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

    राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भनेको सात वर्ष बितिसक्दा पनि आलटाल हुँदै आएको छ । नागरिक उड्डयन प्राधिकरणलाई दक्षिण कोरियाको सिभिल एभिएसन अथोरिटीले सिधा उडान सञ्चालनार्थ सेफ्टी अडिट गर्न पटकपटक ताकेता गरे पनि बेवास्ता गर्दा आलटाल भएको हो ।

    ‘उडानका लागि दक्षिण कोरियाको मिनिस्ट्री अफ ल्यान्ड, इन्फास्ट्रक्चर अफ एन्ड ट्रान्सपोर्ट (मोलिट) अन्तर्गतको सिभिल एभिएसन अथोरिटीले अडिट गर्नुपर्ने हुन्छ तर यहाँको नागरिक उड्डयन प्राधिकरणले समय नदिँदा सात वर्षदेखि नै आलटाल हुँदै आएको हो,’ स्रोतले भन्यो ।

    समयमै सेफ्टी अडिट भएको भए दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा वायुसेवा निगमको सिधा उडान भइसक्ने अवस्थामा प्राधिकरणकै कमजोरीले सात वर्षसम्म उडान हुन नसकेको स्रोतको दाबी छ ।

    पछिल्लोपटक कोरियाको सिभिल एभिएसनले नागरिक उड्डयन प्राधिकरणलाई अक्टोबर १६ देखि २० मा नेपाल आउने र सेफ्टी अडिट गर्ने प्रस्ताव गरेको थियो । त्यसलाई प्राधिकरणले घुमाउरो भाषामा अस्वीकार गरेका छ ।  अक्टोबर १५ देखि २० सम्म एसिया प्यासिफिक हवाई नियमक निकायहरूको डिजीहरूको सम्मेलनमा जानुपर्ने भएकाले सो अवधिमा नभ्याइने बरु सम्मेलनतिरै ‘साइडलाइन’ छलफल गर्ने भन्दै इमेल पठाएर प्राधिकरणले अस्वीकार गरेको थियो।

     सम्मेलनमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायतको टोली ढाका जाने भएको छ। सोही सम्मेलनमा साइडलाइन वार्ता गर्ने भन्दै कोरियाली टोलीलाई नेपाल आउनबाट वञ्चित गरिएको स्रोतले जनाएको छ। यो विषयमा बुझ्न खोज्दा प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलासँग सम्पर्क हुन सकेन।

    वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तारको योजनाअनुरूप दक्षिण कोरिया सिधा उडानका लागि २०७३ सालदेखि तयारी थालेको थियो। राष्ट्रिय ध्वजावाहक निगमको उपस्थिति र सिधा उडान सुरुआतपछि बजार नियन्त्रण भई हवाई टिकटको मूल्य घट्ने र राष्ट्रिय ध्वजावाहकको दायित्व पनि पूरा हुने निगमको चाहना थियो। तर नागरिक उड्डयन प्राधिकरणको असहयोगका कारण अहिलेसम्म उडान हुन नसकेको जनाइएको छ।


    images

    Logo