images
images

नेपालको भोकमरी सूचकाङ्कमा सुधार


  • 440
    SHARES
  • २०८० मंसिर ९ गते शनिबार

    नेपालको भोकमरी सूचकाङ्कमा सुधार

    काठमाडौँ । विश्वव्यापी भोकमरीको सूचकाङ्क (जिएचआई) मा नेपालको अवस्था सुधार देखिएको छ। ग्लोबल हंगर इन्डेक्स २०२३ र वेल्टहङ्गर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित वार्षिक प्रतिवेदनमा यस्तो सुधार देखिएको हो ।

    जिएचआईले १२५ राष्ट्रमा गरेको अध्ययनमा नेपाल ६९ औँ स्थानमा रहेको छ । अङ्कका आधारमा नेपालले १५ अङ्क प्राप्त गरेको छ। अघिल्लो वर्ष नेपालको अवस्था ८१ औँ नम्बरमा रहेको थियो। सार्क राष्ट्रमा भने नेपाल दोस्रो स्थानमा छ। शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा बालबालिकामा हुने कुपोषण, पुड्कोपन, ख्याउटेपन र बाल मृत्युदरलाई भोकमरीको सूचक मानिएको थियो। नेपालमा १५ प्रतिशत जनसङ्ख्याले मात्रै पेटभर खान नपाउने अवस्था रहेको अध्ययनले देखाएको छ। 

    शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा विश्वका १२५ राष्ट्र समेटिएका छन्, जसको पहिलो स्थानमा बेलारुस छ । यसले बेलारुस विश्वकै कम भोकमरीयुक्त देश रहेको जनाउँछ । सबैभन्दा अन्तिम स्थानमा भने मध्य अफ्रिका गणतन्त्र परेको छ । 

    प्रतिवेदनले १० प्रतिशतभन्दा कम नागरिकमा मात्रै पर्याप्त खाद्य सुरक्षा नपुगेको देशलाई गाढा हरियो, १० देखि १९ सम्मलाई फिक्का हरियो, २० देखि ३४ प्रतिशतसम्मलाई पहेँलो, ३५ देखि ४९ प्रतिशतसम्मलाई खैरो र ५० प्रतिशतभन्दा बढीलाई रातो सूचीमा राखेको छ । जसमध्ये नौ मुलुक खैरो सूचीमा रहेका छन् ।

    त्यस्तै ३४ देश पहेँलो सूचीमा छन् । ३७ देश फिका हरियो तथा ५१ देश गाढा हरियो सूचीमा छन् । गाढा हरियो सूचीमा परेकामध्ये पनि २० देशमा खाद्य सुरक्षा नपुगेका नागरिकको सङ्ख्या ५ प्रतिशतभन्दा कम छ । भारत सूचीको १११ औँ स्थानमा छ । अघिल्लो वर्ष भारत १०७ औँ स्थानमा रहेको थियो । 

    त्यस्तै अफगानिस्तान भने सूचीको ११४ औँ स्थानमा छ । माल्दिभ्स र भुटान भने रिपोर्टमा समेटिएका छैनन् । छिमेकी मुलुक चीन कम भोकमरीयुक्त देशको चौथो स्थानमा छ । चीन २०२२ मा पनि चौथो स्थानमै थियो । 

     

     


    images

    Logo