काठमाडौं । चीनले ६ वटा मुलुकका नागरिकलाई बिनाभिसा प्रवेश दिने भएको छ । एक वर्षसम्म परीक्षणस्वरुप फ्रान्स, जर्मनी, इटली, नेदरल्यान्ड्स, स्पेन र मलेसियाका नागरिकलाई बिनाभिसा प्रवेश दिइने भएको हो ।
डिसेम्बरदेखि २०२४ को नोभेम्बर ३० सम्म यी ६ देशका पासपोर्ट बाहकले बिनाभिसा १५ दिनसम्म चीनमा यात्रा तथा व्यापार गर्न पाउने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
चीनको उच्चस्तरीय विकास र खुलापनलाई प्रबद्र्धन गर्न यो कदम चाल्न लागिएको चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बताइन् ।
हाल एकाध मुलुकबाहेक सबैलाई चीन प्रवेशका लागि भिसा चाहिन्छ । तर, सिंगापुर र ब्रुनाइका नागरिकले व्यवसाय, पर्यटन, पारिवारिक भ्रमण वा ट्रान्जिटका लागि चीन प्रवेश गर्न भिसा चाहिँदैन ।
कोरोनाका कारण गत तीन वर्षसम्म चीनमा यात्रा गर्न निकै कठिन थियो ।


