images
images

पूर्वाञ्चल क्यान्सर अस्पतालमा ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा सुरु


  • 551
    SHARES
  • २०७८ भाद्र १ गते मंगलबार

    पूर्वाञ्चल क्यान्सर अस्पतालमा ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा सुरु

    झापा । विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले शल्यक्रियापछि अनुहारलाई दुरुस्त बनाउने ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा सुरवात गरेको छ । नाक, कान र घाँटीमा क्यान्सर सङ्क्रमण हुँदा शल्यक्रिया गरेर अनुहारको बाहिरी र भित्री भागमा पलाएको मासु फालिएपछि पुरानै स्वरुपमा अनुहारलाई ल्याउन ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ गरिन्छ ।

    प्रस्तावित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईकै लगानीमा दुई वर्षदेखि विर्तामोडमा अस्पताल सञ्चालन भइरहेको छ । स्वदेशमै क्यान्सरको पूर्ण उपचार सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’का लागि अस्पतालमा अनुभवी जनशक्ति र उपकरण उपलब्ध भइसकेको मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादवले जानकारीदिए ।
     
    नेपालमा मात्र नभएर नाक, कान र घाँटीको क्यान्सरका बिरामी विश्वभरि नै बढिरहेको उनले जानकारी दिए। सुर्ती र मदिरा सेवन नै यो प्रकारको क्यान्सर गराउने मुख्य कारण भएको उनको भनाइ छ ।

    धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वर्षसम्म नाक, कान र घाँटीको क्यान्सरको शल्यक्रिया गर्दै आएका अर्का सर्जन डा बजरङ्ग साह हाल अस्पतालमा सो सम्बन्धी विभागीय प्रमुखमा नियुक्त भएका छन् । उनले नै ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ गर्दै आएका छन् ।

    उनले नेपालमा पहिलो पटक ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा सुरु भएको जानकारी दिए । उनले शरीरको अरू भागबाट मासु ल्याएर अनुहारमा जोड्ने शल्यक्रियालाई नै ‘फ्री फ्लाप’ भनेर चिनिने बताए । ब्रेनभन्दा मुनि र फोक्सोभन्दा माथिको शरीरको भागमा ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ गरिन्छ ।

    भारतमा ‘फ्री फ्लाप’ गर्न रु २० देखि २५ लाख खर्च लाग्ने भए तापनि यहाँ सोही उपचार रु तीन लाखमा भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा यादवले बताए । ‘फ्रि फ्लाप’ लागि अब विदेश धाउने दिन गएको उनको भनाइ छ ।

    अस्पतालले दुई वर्षमा २२ हजार पाँच सय ३० क्यान्सरका बिरामीको उपचार गरेको र यसमध्ये सात सयको शल्यक्रिया गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए। उनका अनुसार अहिलेसम्ममा तीन हजार पाँच सय जनाको बायोप्सी जाँच गरिएको, दुई हजार आठ सय १० को केमोथेरापी गरिएको, नौ सय ५३ को रेडियोथेरापी गरिएको र एक सय ४० जनाको ब्रेकी थेरापी गरिएको बताए।

    अस्पतालले क्यान्सरको पूर्ण उपचारको सेवा दिने गरी डा मुक्ति देवकोटाको नेतृत्वमा सर्जिकल अङ्कोलोजी, डा बजरङ्ग साहको नेतृत्वमा रिकन्स्ट्रक्शन सर्जरी र डा वीरेन्द्र यादवको नेतृत्वमा रेडियोलोजी विभाग गठन गरिएको छ ।

     


    images

    Logo