images
images

११ महिनामा एक करोड बढी नेपालीले गरे हवाई यात्रा


  • 401
    SHARES
  • २०८० पौष १८ गते बुधबार

    ११ महिनामा एक करोड बढी नेपालीले गरे हवाई यात्रा

    काठमाडौं । सन् २०२३ को ११ महिनामा एक करोड भन्दा धेरै नेपालीहरुले हवाई यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२३ को नोभेम्बरसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा गरी एक करोड १९ लाख ४८ हजारले यात्रा गरेका हुन् । 

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यसअवधिमा अन्तर्राष्ट्रिय उडानतर्फ तीन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४१ लाख ९४ हजार २९३ जनाले यात्रा गरेका छन् । उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् यात्रा गरेका हुन् ।

    यो संख्या सन् २०२२ को तुलनामा ४१ प्रतिशतले बढी हो । २०२२ मा २९ लाख ४५ हजार ५४० जनाले हवाई यात्रा गरेका थिए । 

    हाल नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या ३० रहेको छ । नेपालबाट १६ देशका ३३ वटा अन्तर्राष्ट्रिय गन्तव्यहरूमा नियमित उडान भइरहेको छ ।

    त्यस्तै आन्तरिकतर्फ २०२३ को नोभेम्बरसम्म ७७ लाख ९४ हजार २१७ जनाले हवाई यात्रा गरेका छन् । यो संख्या २०२२ को तुलनामा ३७ प्रतिशतले बढी हो । २०२२ मा आन्तरिकतर्फ ५६ लाख ६८ हजार ९१४ जनाले यात्रा गरेका थिए । 

    प्राधिकरणबाट २१ वटा वायुसेवा कम्पनीले सञ्चालन अनुमति पाए पनि हाल १९ वटा कम्पनीले मात्र उडान गरिरहेका छन्। देशभर विमानस्थलको संख्या ५५ पुगेको छ । यसमध्ये ३५ वटा विमानस्थलहरू आन्तरिक हवाई सेवा सञ्चालनमा जोडिएका छन् । 


    images

    Logo