images
images

लुक्लामा हवाई सेवा लिने पर्यटक बढे, ९२८ टनभन्दा बढी कार्गो खुम्बु ढुवानी


  • 505
    SHARES
  • २०८० माघ ४ गते बिहीबार

    लुक्लामा हवाई सेवा लिने पर्यटक बढे, ९२८ टनभन्दा बढी कार्गो खुम्बु ढुवानी

    सल्लेरी । सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा लुक्लामा हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या २३ दशमलव ८४ प्रतिशतले वृद्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला शाखाले जनाएको हो ।

    प्राधिकरणका प्रमुख उमेश पन्थीका अनुसार सन् २०२२ मा १ लाख १ हजार ५ सय १ पर्यटकले हवाई सेवा प्रयोग गरेकामा सन् २०२३ मा १ लाख ३३ हजार २ सय ७४ जना पुगेका थिए । सङ्ख्यात्मक हिसाबले ३१ हजार ७ सय ७३ बढी हो । हवाई सेवा लिने अधिकांश विदेशी पर्यटक रहेको उनको भनाइ थियो ।

    सन् २०२३ को ‘अफ सिजन’मा खुम्बु भ्रमण गर्ने विदेशीको सङ्ख्या बढेकाले हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या वृद्धि भएको प्राधिकरण प्रमुख पन्थीले बताए । सगरमाथा क्षेत्रको विमानस्थल भनेर चिनिने लुक्ला विमानस्थलमा हवाई सेवा लिनेको सङ्ख्या अधिक हुने गरेको छ । खुम्बु भ्रमण गर्ने अधिकांश विदेशी पर्यटक काठमाडौँ वा रामेछापको मन्थलीबाट जहाजमै लुक्लासम्म पुग्ने र त्यहाँबाट पैदलयात्रा गर्दै उकालो लाग्ने गरेको तारा एयरलाइन्स लुक्लाका स्टेशन इन्चार्ज अमृत मगरले बताए।

    उनका अनुसार लुक्लासम्म सडकमार्ग नपुगेकाले खुम्बु भ्रमण गर्ने अधिकांश पर्यटकले हवाई सेवा नै लिनुपर्ने बाध्यता छ । सीमित पर्यटकले मात्रै गाडीबाट सदरमुकाम सल्लेरी, थामडाँडा हुँदै त्यहाँबाट हिँडेर लुक्ला पुग्ने गरेको उनको भनाइ थियो । जिल्लाको आठ स्थानीय तहमध्ये खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्रसम्म सडक नपुगे पनि अन्य स्थानीय तहका  केन्द्रसम्म सडक पुगिसकेको छ । 

    खुम्बु पासाङल्हामुले पनि यसै आर्थिक वर्षभित्र पालिकाको केन्द्रसम्म सडक पुर्याउने लक्ष्यका साथ सडक विस्तारलाई तीव्रता दिएको गाउँपालिकाका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले बताए । उनले भने, “लुक्लासम्म गाडीको बाटो पुगेपछि पर्यटकलाई पनि सगरमाथा क्षेत्र भ्रमण गर्न सहज हुनेछ, अहिलेजस्तो हवाई सेवाकै भर पर्नु पर्दैन, त्यसैले लुक्लालाई जतिसक्दो चाँडो सडकमार्गले जोड्न स्थानीय सरकार लागिपरेको छ ।”

    ९ सय २८ टनभन्दा बढी कार्गो खुम्बु ढुवानी

    सोलुखुम्बुको लुक्लामा ९ सय २८ टनभन्दा बढी कार्गो सामग्री ढुवानी भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित उक्त विमानस्थलमा सन् २०२३ मा ९ लाख २८ हजार ९ सय ८४ किलोग्राम अर्थात् ९ सय २८ दशमलव ९८ टन कार्गो ढुवानी भएको उक्त शाखाले जनाएको छ । 

    कार्यालयका प्रमुख उमेश पन्थीका अनुसार ढुवानी गरिएका सामग्रीमा खाद्यान्न, निर्माण सामग्री, लत्ताकपडालगाययत रहेका छन् । लुक्लासम्म सडक नपुगेकाले सो क्षेत्रमा सामग्री ढुवानीको भरपर्दो साधन नै हवाई सेवा बनेको गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले बताए । ती सामग्री जहाज तथा हेलिकोप्टरमार्फत ढुवानी गरिएको उक्त शाखाले जनाएको छ । 


    images

    Logo