images
images

चिसो बढेसँगै अन्नपूर्ण पदमार्गमा घटे पर्यटक


  • 361
    SHARES
  • २०८० माघ १६ गते मंगलबार

    चिसो बढेसँगै अन्नपूर्ण पदमार्गमा घटे पर्यटक

    लमजुङ । विश्व पर्यटन बजारका महत्वपूर्ण मानिएकामध्ये एक अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घटेका छन् । दैनिक ३ सयभन्दा बढी पर्यटकको आगमन भइरहने यस पदमार्गमा यतिबेला मुस्किलले दैनिक २ चार जनाका दरले विदेशी पर्यटक आउने गरेको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रले जनाएको छ । 

    यतिबेला चिसो बढ्न थालेसँगै पर्यटक ह्वातै घटेको केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङले बताए । गर्मीयाम सुरु नभएसम्म यसरी पर्यटक घट्दै जाने र पर्यटन व्यवसायीहरुको आम्दानीसमेत नहुने उनको भनाइ थियो । ३५ हजारभन्दा बढी पर्यटन व्यवसायी यस पदमार्गमा छन् । यीमध्ये अधिकांश व्यवसायीको आम्दानीको मुख्य स्रोत पर्यटन क्षेत्र रहेको छ । 

    अत्यधिक चिसोले पर्यटक आगमनमा कमी हुँदा पदमार्गमा आउने पर्यटकलाई लक्ष्य गरेर पदमार्ग आसपासमा दर्जनौँ होटल व्यवसाय सञ्चालन गरेका व्यवसायी यतिबेला मर्कामा परेका छन् । पर्यटक घट्दा आम्दानीसमेत नहुने भएकाले परिवारको दैनिक गुजारा चलाउन समस्या हुने उनीहरूको गुनासो थियो ।  

    लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ जगतका पच्चबहादुर गुरुङले भने, “पर्यटकको चाप हुँदा दैनिक ३०/४० हजार रुपैयाँसम्म आम्दानी हुन्थ्यो तर अहिले पर्यटक नआउँदा आम्दानी शून्य भएको छ । चिसो बढेकाले पर्यटक पदमार्गमा नआउँदा आम्दानी हुन छाडेपछि चिन्तित बनाएको उनको भनाइ थियो । 

    अर्का पर्यटन व्यवसायी खुसबहादुर तामाङको पनि उस्तै पीडा छ । लामो समयपछि लयमा फर्किरहेको पर्यटन व्यवसाय यतिबेला पर्यटक आगमन घटेसँगै आम्दानी पनि कम हुन पुगेको छ । दैनिक ३०/३५ हजार रुपैयाँ आम्दानी हुने गरे पनि यतिबेला पदमार्गमा पर्यटक शून्यजस्तै बनेसँगै आम्दानी नहुँदा परिवारको गुजारा कसरी चलाउने भन्ने चिन्तामा रहेको उनको भनाइ थियो । 

    पर्यटकहरु हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज र प्राकृतिक सुन्दरताको अवलोकन गर्नाका साथै मनाङबाट थुम्रापास भएर मुस्ताङ वा पोखरा जान पर्यटक अन्नपूर्ण पदमार्ग प्रयोग  गर्छन् । सो पदमार्गले लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडेको छ । 

    विश्वकै दश उत्कृष्ट पदमार्गमा पर्ने यस पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहरमा छ । पदमार्ग सुनसान हुँदा पर्यटन व्यवसायी मात्र नभई सयौँ सङ्ख्यामा होटलमा आबद्ध कर्मचारी, भरिया तथा पर्यटकका लागि पथप्रदर्शकको काम गर्दै आएकाहरुलाई समेत समस्या पर्न थालेको छ । 


    images

    Logo