काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेट २ खर्ब २० अर्ब रुपैयाँले घटाएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले २ खर्ब २१ अर्ब रुपैयाँले बजेट घटाएको हो ।
चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो । यो बजेटलाई संशोधन गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले १५ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँमा झारेका हुन् ।
जसमध्ये पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने उनको भनाइ छ । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.८४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको छ ।
वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने अनुमान छ । स्रोत व्यवस्थातर्फ राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब उठाउने लक्ष्य लिइएकोमा राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड ४६ लाख मात्रै उठ्ने संशोधित अनुमान गरेका छन् ।
सरकारले लक्ष्यअनुसार नै आन्तरिक अण उठाउने अवस्था देखिएकाले राजस्व लक्ष्यभन्दा धरै कम करिब १० खर्ब ६९ अर्ब मात्रै उठ्न अनुमान गरेकाे छ ।
यस्तै अनुदानबाट ४९ अर्ब ९४ करोड प्राप्त हुने अनुमान संशोधन गरिएको छ । अब ४० अर्ब १२ करोड ९ लाख प्राप्त हुने जनाइएकाे छ । वाह्य ऋण २ खर्ब १२ अर्ब ७५ करोडको अनुमान संशोधन गर्दै १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख प्राप्त हुने संशोधित अनुमान छ ।
चालु आर्थिक वर्षको अर्धवार्षिक बजेट समीक्षा (पूर्णपाठ)


