images
images

लाङ्टाङ क्षेत्र पर्यटकको आगमन बढ्यो, पर्यटकबाट करिव ३ करोड प्रवेश शुल्क संकलन


  • 435
    SHARES
  • २०८१ बैशाख २ गते आइतबार

    लाङ्टाङ क्षेत्र पर्यटकको आगमन बढ्यो, पर्यटकबाट करिव ३ करोड प्रवेश शुल्क संकलन

    रसुवा । रसुवा जिल्लाको लाङ्टाङ क्षेत्रमा पदयात्रा र गोसाइँकुण्डमा स्नान गर्न आउने पर्यटक तथा तीर्थयात्रुको सङ्ख्या बढेको छ ।प्रत्येक वर्ष गङ्गा दसहरा र जनैपूणिर्मा  पर्वमा मात्र गोसाइँकुण्डको दर्शनार्थ पुग्ने भक्तजन बाह्रैमहिना आउजाउ गर्न थालका हुन् ।

    समुद्र सतहदेखि ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा स्नान तथा पूजाआरधना गर्नाले मनोकांक्षा पूरा हुने विश्वास छ । वार्षिक २० हजार भक्तजन गोसाइँकुण्ड पुग्ने गर्छन् । 
     
    बढ्दो तापक्रमसँगै कुण्डमा जमेको हिउँ पग्लिन थालेपछि स्नानका लागि आउने भक्तजनको सङ्ख्या बढेको हो । हाल दैनिक ३०/४० जना भक्तजन कुण्डमा स्नान गर्न पुगेको रसुवा पर्यटन व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले जानकारी दिए ।

    यसैगरी नेपालको तेस्रो पर्यटकीय गन्तव्य लाङ्टाङ पदमार्ग क्षेत्रमा दैनिक २५/३० जना स्वदेशी तथा विदेशी पर्यटक पुग्न थालेका छन् । लाङ्टाङ राष्ट्रिय निकुञ्जका रेञ्जर नीतेन्द्र सिंहका अनुसार लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको आधार क्षेत्रमा भर्खरै सुरु भएको पर्यटकीय मौसममा ८ हजार ६ सय ८१ जना आन्तरिक तथा बाह्य पर्यटक पुगिसकेका छन् । तीमध्ये ६ हजार ५ सय २७ जना विदेशी पर्यटक छन् । २ सय ३९ पर्यटक सार्क राष्ट्रका छन् ।  पर्यटकबाट २ करोड ९९ लाख ९६ हजार ८ सय ५४ रुपैयाँ प्रवेश शुल्क बापत् संकलन गरिएको छ ।
     
    लाङ्टाङ राष्ट्रिय निकुञ्जले स्वदेशीलाई १ सय रुपैयाँ र सार्क राष्ट्रका नागरिकलाई १ हजार ५ सय रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ । अन्य देशका पर्यटकलाई तीन हजार प्रवेश शुल्क लिइन्छ । पर्यटकका लागि दर्जनौँ होटल तथा लज सञ्चालनमा छन् । लाङटाङ जाने रुटमा पर्ने धुञ्चे, ठूलोभार्खु, ब्रावल, ठूलोस्याफ्रु, पहिरो, बम्बु, स्याफ्रुबेँसी, खाम्जीम, शेर्पागाउँ रिम्चे, लामाहोटल, घोडा तबेला, लाङ्टाङ मुण्डू हुँदै क्याङ्जेनसम्म सयौँ होटल तथा लज छन् । 

     पर्यटक तथा भक्तजनको आगमन बढेसँगै पैदलमार्गमा सुरक्षाका लागि गस्ती बढाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।  पदयात्रा गर्ने क्षेत्र लाङ्टाङ राष्ट्रिय निकुञ्जको आधार इलाका पर्ने भएकाले यस क्षेत्रमा जनावर पशुपन्छीलाई नचलाउन र फोहोर नगर्न पर्यटकलाई अनुरोध गरिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अणनाथ बरालले बताए ।


    images

    Logo